काठमाडौँ, ११ असोज । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टका विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनको ११७ किमि खण्डको निर्माण सम्झौता गरेको छ ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशिष–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले शुक्रबार एक समारोहबीच एमसीसी र एमसीए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षरण गरे ।
यससँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सकिएको छ । आशिष–बोज्लर संयुक्त उपक्रमले काठमाडौंमा निर्माणाधीन लप्सीफेदी सबस्टेसनबाट नुवाकोटमा निर्माणाधीन रातमाटे सबस्टेसन हुँदै मकवानपुरमा निर्माणाधीन नयाँ हेटौंडा सबस्टेसनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्ने बताइएको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसीए–नेपालले प्रदान गरेको उक्त ठेक्का करिब ७६६.५० लाख अमेरिकी डलरको छ । यस सम्झौताअन्तर्गत उक्त ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनलगायत काम गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्