समाचार

जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, २४ घाइते



काठमाडौँ, १३ असोज । अर्घाखाँचीको सन्धिखर्क–९, टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

सोही घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन् । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । एकजना  घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।