काठमाडौँ, १४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाका निम्ति नयाँ शान्ति योजनामा सहमति जनाएका छन् । यसलाई स्वीकार गर्न उनीहरूले हमासलाई दबाब दिएका छन् ।
यो योजनामा सैन्य कारबाही तत्काल समाप्त गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावानुसार, हमासले हिरासतमा रहेका सयौँ गाजावासीको बदलामा जीवित रहेका २० इजरायली बन्धक रिहा गर्नुपर्नेछ । मृत मानिएका दुई दर्जनभन्दा बढी बन्धकको अवशेष ७२ घण्टाभित्र उपलब्ध गराउनुपर्नेछ ।
वार्तामा संलग्न प्यालेस्टाइनी स्रोतले बीबीसीलाई बताएअनुसार, ह्वाइट हाउसले हमासका अधिकारीलाई २० बुँदे प्रस्ताव हस्तान्तरण गरेको छ । प्रस्तावमा गाजाको शासनमा हमासको कुनै भूमिका नहुने उल्लेख छ । र, प्यालेस्टाइनी राज्यको विकल्पका निम्ति ढोका खुला राखिएको छ ।
ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले यो योजना शान्तिका निम्ति ऐतिहासिक कदम भएको बताए । उनले हमासले योजना स्वीकार नगरे नेतान्याहूले जे गर्ने निर्णय गरे पनि अमेरिकाले उसलाई समर्थन गर्ने सुनाए । नेतान्याहूले पनि योजना अस्वीकार गरिए इजरायलले आवश्यक कदम चाल्ने चेतावनी दिए ।
बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरले योजनाको स्वागत गर्दै सबै पक्षलाई अमेरिकी प्रशासनसँग मिलेर यसलाई अन्तिम रूप दिन र व्यवहारमा ल्याउन आह्वान गरेका छन् । हमासले अब योजनामा सहमति जनाउनुपर्नेमा उनले जोड दिएका छन् । हमासले आफ्ना हतियार फालेर बाँकी रहेका बन्धक रिहा गरी दुःखको अन्त्य गर्नुपर्ने उनले बताएका छन् ।
योजना अनुसार, हमासले आफ्ना हतियार राख्न पाउँदैन । हमासका सुरुङ र हतियार निर्माणसम्बन्धी सुविधा नष्ट गरिनेछ ।
योजना कार्यान्वयनपछि पहिलो चरणमा २० जीवित इजरायली बन्धक र मृत मानिएकाका अवशेष जारीपछि इजरायलले हिरासतमा रहेका सयौँ गाजावासीलाई रिहा गर्नेछ । प्रत्येक इजरायली बन्धकको अवशेषको बदलामा इजरायलले १५ मृत गाजावासीको अवशेष प्रदान गर्ने विषय पनि प्रस्तावमा समावेश छ ।
दुवै पक्ष प्रस्तावमा सहमत भएपछि ‘गाजापट्टीमा तुरुन्तै पूर्ण सहायता पठाइने’ प्रावधान त्यसमा राखिएको छ ।
अमेरिकाले गाजाको भविष्य शासनको रूपरेखा पनि प्रस्तुत गरेको छ । त्यहाँ अस्थायी रूपमा एक प्राविधिक, अराजनैतिक प्यालेस्टाइनी समितिले शासन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यसलाई ‘शान्ति बोर्ड’ नामक नयाँ अन्तर्राष्ट्रिय संक्रमणकालीन निकायको निरीक्षण र पर्यवेक्षणमा राखिनेछ । ह्वाइट हाउसले यो निकायको नेतृत्व ट्रम्पको टिमले गर्ने जनाएको छ ।
बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर र अरू केही नेता पनि उक्त निकायको हिस्सा रहनेछन् । ब्लेयरले योजनालाई ‘साहसी र बुद्धिमानीपूर्ण’ भनेका छन् ।
प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हमासले गाजाको शासनमा कुनै भूमिका नपाउने प्रस्ताव छ । योजनाको मुख्य भाग गाजाको पुनर्निर्माणका निम्ति अमेरिकाले अघि सारेको आर्थिक विकास कार्यक्रममा केन्द्रित छ । त्यसमा इजरायलले गाजामा कब्जा वा विलय नगर्ने र उसका सैनिकहरू चरणबद्ध रूपमा उक्त क्षेत्रबाट फिर्ता हुने भन्ने विषय समावेश छ ।
योजनाअनुसार, अन्ततः प्यालेस्टाइनी राज्यको सम्भावनालाई खुला राखिएको छ । योजना दोहामा हमासका अधिकारीलाई हस्तान्तरण गरिएको छ । यसमा कतार र इजिप्टका अधिकारीले मध्यस्थता गरेका थिए । बीबीसीबाट ।










प्रतिक्रिया दिनुहोस्