काठमाडौँ, १६ असोज । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म वाग्मतीसहित विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको जनाएको छ । विभागले बुधबार (असोज १५) विज्ञप्ति जारी गर्दै कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको जनाएको हो ।
“बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट २० गतेसम्म खास गरी कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ” विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हालको विश्लेषणअनुसार उक्त अवधिमा देशको नारायणी, वाग्मती, कमला र कोसी नदी र यी नदीका सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको छ । साथै कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाब हुन सक्ने सम्भावना रहेको छ । विशेषगरी वाग्मती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोसी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागले जनाएको छ ।
मुख्यतः असोज १८–२० सम्म विशेष सतर्कता अपनाउन विभागको अनुरोध छ ।










प्रतिक्रिया दिनुहोस्