तनहुँ, १९ असोज । लामो समयदेखि प्रभावित रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम पुनः सुरु भएको छ ।
आयोजना र निर्माण व्यवसायीबाट संयुक्त रुपमा प्रसारण लाइन निर्माण क्षेत्रको भ्रमण गरी जग्गा अधिग्रहण र वन क्षेत्रको प्रयोगमा रहेको समस्या सम्बोधनको पहल गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृती नपाउँदा प्रसारण लाइन निर्माण प्रभावित भएको थियो ।
चितवन जिल्लामा प्रसारण लाइन निर्माण गर्दा प्रयोग गरिने जग्गा सट्टाभर्ना उपलब्ध गराउने प्रयोजनार्थ राष्ट्रिय वनसँग जोडिएको, सम्भव भएसम्म समान भौगोलिक र पारिस्थितिकीय क्षेत्र रहेको, वन विकास गर्न सकिने भूबनोट भएको तथा एकै स्थानमा रही एकआपसमा जोडिएको चक्लाबन्दी भएको निजी जग्गा नेपाल सरकारको नाममा रजिष्ट्रेसन पास गर्ने गरी जग्गा बिक्री गर्न गराउन इच्छुक जग्गाधनीहरुलाई पुनः सार्वजनिक सूचनामार्फत आह्वान गर्ने निर्णय भएको छ ।
समितिको बैठकबाट सट्टाभर्नाका लागि आयोजनालाई आवश्यक पर्याप्त जग्गा प्राप्त हुन नसकेको बेहोरो वन तथा भूसंरक्षण विभागलाई र वन नियमावलीमा भएको व्यवस्था बमोजिम जग्गा प्रयोग गरेबापतको रकम जम्मा गर्न आयोजनालाई सिफारिस गर्ने निर्णय भएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्