राजनीति

जेनजी आन्दोलन र नेपाली राजनीतिको पुनर्गठन



भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा एक नयाँ तरंग ल्याएको छ। यो नविन विद्रोहले नवयुवा पुस्ताको सक्रियता, चेतना र परिवर्तनको चाहनालाई मात्र उजागर गरेको छैन, बरु नेपाली राजनीति र दलहरूको पुनर्गठनको एक वेजोड माग पनि गरेको छ । नवयुवाहरुको स्पष्ट संदेश छ, दलहरु पुनर्गठनमा जाउ, पुस्तान्तरण गर, असफल नेतृत्वलाई विदा देउ र नयाँ एजेण्डासहित सुदुर भविश्यको यात्रामा अगाडी बढ, अन्यथा जडवत रहने हो भने, पुराना दलहरुको अन्त्य अनिवार्य छ । यसरी, जेनजी आन्दोलन केवल असन्तुष्टिको स्वर मात्र बोलेको छैन, यसले दलहरूलाई आफ्नै सान्दर्भिकता र प्रभावकारिता पुनर्विचार गर्न बाध्य बनाएको छ। यसले नेपाली राजनीतिमा युवा नेतृत्वको महत्व र उनीहरूको सक्रिय सहभागिताको सम्भावना स्पष्ट पारेको छ। त्यसैले दलहरूको पुनर्गठन अब कुनै वैकल्पिक विषय होइन, राजनीतिक आवश्यकता बनेको छ । यस्तो आवश्यकता, जसले हाम्रो नयां पुस्तालाई बस्न योग्य राष्ट्र निर्माण गरि उनिहरूको समग्र भविश्यलाई मार्गदर्शन गर्नेछ ।

कसरी गर्ने दलहरुको पुनर्गठन ? के दलहरुको पुनर्गठन भनेको ब्यक्तिको फेरबदल मात्र हो ? हैन । अवश्यनै दलहरुको पुनर्गठन भनेको नेतृत्वको नविकरण हो । तर त्यतिमात्रले यो कार्यभार पुरा हुदैन । आधारभुतरुपमा दलहरुको पुनर्गठनका पाँच सर्तहरु छन् र दलहरुले ति पाँचवटै पक्षमा आफुलाई पुनर्गठन गर्न आवश्यक छ । अनिमात्र नवयुवाहरुको आन्दोलनको अभिष्ट र आजको एक महत्वपुर्ण राजनीतिक कार्यभार पुरा हुनेछ ।

दलहरूको पुनर्गठनका पहिलो आधार विचारको पुनर्गठन हो । अधिकांश राजनीतिक दलहरू पुराना वैचारिक आधारमा टिकेका छन्—समाजवाद, कम्युनिज्म वा उदार लोकतन्त्र । ती विचारहरूले विगतमा भूमिका खेले पनि, अहिलेको वैश्वीकरण, प्रविधिको विकास, जलवायु परिवर्तन र युवा आकांक्षाका सन्दर्भमा उनीहरूको सान्दर्भिकता कमजोर छ । दलहरूले नयाँ यथार्थपरक विचार र नीति निर्माण गर्नुपर्छ—जसमा डिजिटल अर्थतन्त्र, हरित विकास, सामाजिक समानता र नवप्रवर्तनलाई प्राथमिकता दिइएको होस् ।

पुनर्गठनको दोश्रो आधार हो, एजेण्डाको पुनर्गठन । दलहरूले आफ्नो एजेण्डालाई सत्ता खेलभन्दा माथि उठाएर जनताको जीवनस्तरसँग जोड्नुपर्छ । बेरोजगारी, गरिबी, शिक्षा, स्वास्थ्य सेवामा पहुँच—यी आधारभूत समस्या दलहरूको मूल एजेण्डा हुनुपर्छ । जेन–जेड आन्दोलनले विशेषगरी रोजगारी र शिक्षा सुधारको आवश्यकता जोड दिएको छ, र दलहरूले यसलाई सम्बोधन गर्न आफ्नो कार्यसूचीमा राख्नै पर्छ ।

पुनर्गठनको तेस्रो पक्ष हो, आन्तरिक लोकतन्त्रको सुदृढीकरण । धेरै दलहरूमा नेतृत्व चयन र नीति निर्माण केही सीमित व्यक्तिहरूमा केन्द्रित छ। प्रश्नहरु नियन्त्रित छन् । आलोचना बर्जित छन् । पार्टीमा उक व्यक्तिको मनमौजी छ । कार्यकर्ता भन्दा विचौलिलयाहरु प्रभावकारी छन् । समितिहरु प्रभावहिन छन् र गुट प्रभावशाली छन् । यसले गुटबन्दी, असन्तुष्टि र नेतृत्व संकट निम्त्याएको छ । अतः यस्ता खरावीहरुको अन्त्यगर्दै दलहरु भित्र पारदर्शी र सहभागीतामुलक निर्णय प्रक्रिया सुदृढगर्न आवश्क छ । जसले दलभित्रको लोकतन्त्र, प्रभावकारित, सामुहिकता र जवाफदेहिता सुनिश्चित गर्दछ ।

दलहरुको पुनर्गठनको चौथो आधार हो, नेतृत्वको पुनर्गठन । पुराना नेताहरूले लामो समयदेखि सत्ता र दल नियन्त्रणमा राखेका छन्, जसले नयाँ पुस्तालाई अघि आउनबाट रोकेको छ । दलहरूले युवालाई नेतृत्वमा ल्याउन खुला अवसर सिर्जना गर्नुपर्छ । नयाँ नेतृत्वले दलमा ऊर्जा, नवप्रवर्तन र विश्वास ल्याउनेछ । अन्यथा, लोकतन्त्र दलतन्त्र र नेतातन्त्रमा संकुचित हुनेछ र हाम्रो लोकतन्त्र प्रभावहिन बन्ने छ । भ्रष्टाचार बढ्ने छ । र, त्यसैभित्रबाट तानाशाहीहरु सत्तासिन हुनेछन् । यो सबैको अन्त्यगर्न दलहरुभित्र नयाँ पुस्ताको आगमन, लोकतान्त्रिक पद्दतिको स्थापना र नेतृत्व हस्तान्तर जिवन्त हुन आवश्यक छ ।

दलहरुको पुनर्गठनको पाँचौ आधार राजनीतिक संस्कृतिको पुनर्गठन हो। राजनीतिलाई केवल प्रतिस्पर्धा र सत्ता खेल होइन, जवाफदेही, इमानदारी र सेवा भावको संस्कृतिमा रूपान्तरण गर्न आवश्यक छ। दलहरूले भ्रष्टाचार, नातावाद र कृपावादलाई अन्त्य गर्न कडा नीति बनाउनु पर्छ। यसले राजनीति जनताको सेवामा आधारित हुने संस्कृतिलाई स्थापित गर्नेछ। यो सुसंस्कृत राजनीतिको आधार हो र दलहरुलाई नैतिक, निष्ठावान र जनमुखि बनाउने महत्वपुर्ण प्रकृया हो । अन्यथा, निष्ठा, मुल्य मान्यता र लोकतान्त्रिक संस्कृति बिनाका दलहरुले लोकतन्त्रको किमार्थ नेतृत्वगर्न सक्दैनन् ।

अतः दलहरूको पुनर्गठन अब समयको माग हो। आन्दोलनको माग हो । युवा पुस्ताको माग हो । विचार, एजेण्डा, आन्तरिक लोकतन्त्र, नेतृत्व र राजनीतिक संस्कृतिमा सुधारले मात्र दलहरूलाई जनतासँग जोड्न र विश्वास जित्न सहयोग गर्नेछ। र, यसले नेपालको राजनीति स्थायित्व, पारदर्शिता र समृद्धिको यात्रामा नयाँ दिशा दिनेछ। यो अर्थमा, जेन–जेड आन्दोलनको चेतना र मागलाई ग्रहण गर्दै दलहरूले यो अवसरलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्छ, ताकि नेपालको राजनीति नयाँ उचाइमा प्रवेश गर्न सकोस्। अतः अहिलेलाई दलहरुको मुख्यतः दुईवटा जिम्मेवारी छन्, एक स्वयंको पुनर्गठन र दोश्रो निर्वाचनमा सहभागीता । अनिमात्र हाम्रो राजनीति उज्यालोतिर संक्रमित हुनेछ र हाम्रा संकटहरु समाधान हुनेछ ।

सम्पादकीय