Banner News

शीतलनिवासमा प्रधानमन्त्री र जेन-जी अगुवाबीच नोकझोक



काठमाडौँ, २६ असोज । चुनावको तयारीबारे छलफल गर्न शीतलनिवास पुगेका जेन–जी अगुवा र प्रधानमन्त्री सुशीला कार्कीबीच नोकझोक भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य समस्याका कारण अनुपस्थित भएको छलफलमा प्रधानमन्त्री कार्कीसामु केही जेन–जी प्रतिनिधिले चर्को असन्तुष्टि व्यक्त गरेका हुन् । 

छलफलमा घाइते जेन–जीको नेतृत्व गर्ने अभिषेक श्रेष्ठले आन्दोलनको एजेन्डा, घाइते र मृतकको माग सम्बोधन नभएसम्म चुनाव हुन नसक्ने बताएका थिए । जेन–जी आन्दोलनमा दमन गरेका तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही हुनुपर्ने मागसमेत उनले उठाउँदै आएका छन् ।

जेन–जी रिभोलुसन नेपालका उपाध्यक्ष अर्जुन शाहीले पारदर्शिता देखाउन नसकेको भन्दै सरकारमाथि आक्रोश पोखे । शाहीले भ्रष्टाचार नियन्त्रणका विषयमा समेत जति काम हुनुपर्थ्यो, त्यति नभएको भनी टिप्पणी पनि गरे । जेन–जी प्रतिनिधि प्रवेश दाहालले समेत भ्रष्टाचार नियन्त्रणको सवाल उठाए । अर्का जेन–जी प्रतिनिधि जितेन्द्रप्रताप सिंहले भ्रष्टाचारको फाइल नखोलेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरे । जेन–जी समूहका कतिपय प्रतिनिधिलाई बैठकमा सहभागी हुन नदिइएको भन्दै उनले असन्तुष्टि पनि जनाए ।

जेन–जीको प्रत्येक समूह समेट्ने गरी राष्ट्रपति कार्यालयले शनिबार छलफलमा बोलाएको थियो । छलफलमा सहभागी हुन नपाएका प्रतिनिधिले शीतलनिवास गेटमा नाराबाजी गरेका थिए । पहिले खरो प्रस्तुत हुने हामी नेपालका सुदन गुरुङ छलफलमा केही शान्त थिए ।

छलफल लयबाट बाहिर गएपछि प्रधानमन्त्री कार्कीले प्रतिवाद गरेको ती प्रतिनिधिले बताए । जेन–जीबाट राजीनामा दिनुपर्ने मागसमेत आएपछि कार्कीले ‘खालि राजीनामा माग्ने काम नगर्नुस्’ भन्दै कड्किएकी थिइन् ।

छलफलका क्रममा ‘एनजीओले बनाएको सरकार’ भनी टिप्पणी गरिएपछि पनि प्रधानमन्त्री कार्कीले प्रतिवाद गरिन् । यो आफूले बनाएको सरकार हो भन्दै ढुक्क हुन उनले आग्रह गरिन् । तोकिएको मितिमा निर्वाचन गराउन सहयोग गर्ने जिम्मेवारी जेन–जीको समेत भएको भन्दै उनले सकारात्मक भूमिका खेल्न सबैलाई आग्रह गरिन् ।

प्रधानमन्त्री कार्की झोक्किएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समेत जेन–जीलाई सम्झाएका थिए । यो सरकार जेन–जीकै सरकार भएको उल्लेख गर्दै उनले सकभर सबैलाई एक ठाउँ उभिन आग्रह गरे ।