अर्थ

सुन तस्करी प्रकरण: पूर्वउपराष्ट्रपति पुन अनुसन्धानमा



काठमाडौँ, २७ असोज । सुन तस्करी प्रकरणमै पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दबहादुर पुनमाथि पनि अनुसन्धान सुरु भएको छ ।

तस्करीबाट सुन भित्र्याउन जितेन्द्र पुनले बाबुको ओहदा दुरुपयोग गरी आफूलाई हुम्लावासी बनाई सीमा वारपार गर्ने परिचयपत्र बनाएका थिए । रोल्पाको राङ्सी स्थायी घर भएका जितेन्द्रले त्यस्तो परिचयपत्र गृह मन्त्रालयबाट लिएका हुन् । उधारोमा तस्करीको सुन ल्याउन जितेन्द्रले आफू उपराष्ट्रपतिको छोरा भएको, उपराष्ट्रपतिको स्वकीय सचिव भएको देखिने कागजात चिनियाँ गिरोहलाई बुझाएका थिए । पछि सुनको भुक्तानी नदिएपछि चिनियाँले तत्कालीन उपराष्ट्रपति पुनसँगै कुराकानी गरेको तथ्य पनि खुलेको थियो । पूर्वराष्ट्रपति पुनमाथि अनुसन्धान नै भएको थिएन ।

पूर्वउपराष्ट्रपति पुनका अर्का छोरा दीपेश असार २०८० मा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र त्यसअघि १० पुस २०७९ मा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा मुछिएका थिए । सुन तस्करी प्रकरणमा दीपेशको संलग्नता किटान गर्दै सुन जाँचबुझ आयोगले पनि थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो । दीपेश नक्कली भुटानी शरणार्थी प्रकरण र सहकारी ठगी प्रकरणका पनि आरोपित हुन् ।

पुन उपराष्ट्रपति छँदाका ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङ त्रिभुवन विमानस्थलमा १९ मंसिर २०८० मा बरामत १४ केजी सुन प्रकरणमा मुछिएर १४ फागुनमा पक्राउ परेका थिए । पछि उनी धरौटीमा छुटेका थिए ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको तस्करी प्रकरणमा महरालाई आइबार पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार भन्सार ऐन र संगठित अपराधसम्बन्धी कसुरमा महरामाथि अनुसन्धान अघि बढाइएको छ ।

दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर १० पुस २०७९ मा ल्याइएको करिब ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएका थिए ।

त्यति बेला ७३ वटा बाकसमा राखेर ल्याइएको ७३० थान भेप शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो । भेप लिएर आएका भरिया ली हसङ तत्कालै फरार भएका थिए । पछि भेप सुन छुटाउन चिनियाँ तस्कर दावाजिन वाङले पूर्वसभामुख महरा र उनका छोरा राहुलको सहयोग लिएका थिए । डेढ वर्षपछि सुन तस्करीको अनुसन्धान ब्युँताउँदै सीआईबीले पूर्वसभामुख महरालाई पुनः पक्राउ गरेको हो ।