राजनीति

हामी चुनावबाट भाग्दैनौँ : कांग्रेस



काठमाडौँ, २९ असोज । सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा राजनीतिक दलका नेताहरुसँग परामर्श गरेका छन् ।

उनले आफू नेतृत्वमा संसद् पुनर्स्थापनाका लागि जाने तयारी गर्दै दलहरुसँग धारणा मागेका हुन् ।

आज सभामुखले बोलाएको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सर्वोच्चमा रिट पुगिसकेको बताउँदै सर्वोच्चको व्याख्या र आदेशलाई मान्दै निर्वाचनको तयारी पनि थाल्ने बताए ।

उनले भने, “यसअघि पनि आठ दलका प्रमुख सचेतकले संसद् विघटन असंवैधानिक भनिसकेका छौँ । हामीले दसैंअघि पार्टीको कार्यसम्पादन समितिको बैठकले पनि असंवैधानिक छ भनेर भनेका छौँ । तर हामी लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट हट्दैनौँ । सर्वोच्चले गर्ने फैसला हामीले सम्मान गर्छौं,” ।

उनले सर्वोच्चले जे आदेश दिए पनि मान्ने बताए । उनले भने “हामी निर्वाचनबाट पछि हट्ने अवस्थाबाट भाग्दैनौँ । सर्वोच्चले संसद् पुनर्स्थापन गरे सम्मान गर्छौँ,” “केन्द्रीय समितिको बैठक जारी छ । भोलिबाट फेरि बैठक निरन्तर हुन्छ । केन्द्रीय समितिले थप निर्णय गर्नेछ । संवैधानिक परीक्षणको आवश्यकता छ । १० वटा रिट हिजो नै दर्ता भएको छ । भोलि थप पर्लान्  ।”

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकार चुनाव गराउने बाटोमा नगएको बताउँदै अहिले संसद् पुनर्स्थापना आवश्यक भएको बताए ।

नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरु चुनावको तयारीमा रहेको बताए । तर सरकार तयार नभएको निष्कर्ष आफूहरुको रहेको धारणा राखे ।