काठमाडौँ, २ कार्तिक । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पुँजीगत खर्च घटेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा १९ अर्ब १८ करोड ३४ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ४.७ प्रतिशत मात्र पुँजीगत खर्च भएको हो । जबकि गत आर्थिक वर्षको सोही अवधिमा २९ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ८.३६ प्रतिशत पुँजीगत खर्च भएको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २१.७५ प्रतिशत चालु खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा २ खर्ब ३० अर्ब १४ करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २०.१८ प्रतिशत चालु खर्च भएको थियो । चालु आर्थिक वर्षमा चालु खर्च शीर्षकमा सरकारले ११ खर्ब ६६ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।
गएको तीन महिनामा सरकारले २ खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको १६.८३ प्रतिशत हो । असोजसम्म सरकारले ३ खर्ब २१ अर्ब ५३ करोड र वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको थियो । तीन महिनामा संकलन भएको राजस्व गत वर्षको सोही अवधिको तुलनामा थोरैले कम हो । गत वर्षको तीन महिनामा सरकारले २ खर्ब ५० अर्ब ४६ करोड अर्थात् वार्षिक लक्ष्यको १७.६५ प्रतिशत राजस्व संकलन भएको थियो ।
यस्तै, गएको तीन महिनामा सरकारले सरकारी ऋणको साँवा भुक्तानी र सार्वजनिक संस्थानमा लगानी (वित्तीय व्यवस्था शीर्षकमा) का लागि ८८ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको छ । यो वार्षिक विनियोजित बजेटको २३.६१ प्रतिशत हो । यो खर्च पनि गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले वित्तीय व्यवस्था शीर्षकमा ६९ अर्ब ९७ करोड रुपैयाँ अर्थात् १९.०५ प्रतिशत खर्च भएको थियो ।
यसैगरी, गएको तीन महिनामा सरकारको कुल आम्दानी (प्राप्ति) २ खर्ब ५३ अर्ब १८ करोड रुपैयाँ छ । यो यस वर्षको वार्षिक लक्ष्यको १६.५१ प्रतिशत हो । तर, गत वर्षको तुलनामा भने यस वर्षको प्राप्ति सामान्य कम हो । गत वर्षको पहिलो तीन महिनामा सरकारको कुल प्राप्ति २ खर्ब ५५ अर्ब अर्थात् वार्षिक लक्ष्यको १७.३४ प्रतिशत हो । यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ आम्दानी (प्राप्ति) राजस्व उठाउने लक्ष्य राखेको छ ।
गएको तीन महिनामा सरकारको कुल खर्च पनि गत वर्षको सोही अवधिको तुलनामा बढी हो । यस वर्षको पहिलो तीन महिनामा सरकारले ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ कुल खर्च भएको छ । जबकि गत वर्षको सोही अवधिमा यस्तो खर्च ३ खर्ब २९ अर्ब ५६ रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा करिब सवा खर्ब रुपैयाँले सरकारी वित्त घाटामा छ । उल्लिखित तथ्यांकका आधारमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारी वित्त १ खर्ब ११ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सरकारले कुल विनियोजित बजेटको १८.५६ प्रतिशत मात्र खर्च गरेको छ । जसअनुसार असोज मसान्तसम्ममा ३ खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजित बजेटको करिब साढे १८ प्रतिशत मात्र हो । यस वर्षको तीन महिनामा भएको कुल सरकारी खर्च गत वर्षको सोही अवधिको भन्दा केही बढी हो । गत आर्थिक वर्षको तीन महिनामा ३ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ कुल खर्च भएको थियो । यस वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्