Banner News

जेनजी आन्दोलनका माग पूरा गर्न सरकार असफल भयो: अध्यक्ष साह



रौतहट, ७ कार्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार जनआन्दोलनका माग पूरा गर्न असफल भएको आरोप लगाएका छन्।

हिन्दूहरूको महान् पर्व दीपावली र छठको अवसरमा बिहीबार रौतहटको गुजरा नगरपालिका–३ बलुवामा आयोजित शुभका मना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले सरकारले आन्दोलनको मूल उद्देश्य बिर्सिएको टिप्पणी गरे । साहका अनुसार, जेनजी आन्दोलनका हत्याराहरू खुलेआम घुमिरहेका बेला सुशीला कार्की नेतृत्वको सरकार रमिते बनेको छ । उनले सरकारको निष्क्रियता प्रति तीव्र असन्तुष्टि जनाउँदै भने, ‘यो सरकार जेनजीका सहिद परिवारको भावनाप्रति पनि संवेदनशील छैन ।’

अध्यक्ष साहले भने, ‘सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको बलमा बनेको छ। तर यो सरकार जेनजी आन्दोलनका माग सम्बोधन गर्न पूर्णतया असफल भएको छ । जेनजीको माग केवल सरकार परिवर्तन होइन, व्यवस्था सुधार, भ्रष्टाचारी र हत्यारालाई कारबाही जस्ता मूल मुद्दा हुन्। तर सरकारले ती विषयमा कुनै चासो दिएको छैन ।’

अध्यक्ष साहले वर्तमान सरकार निर्वाचनको वातावरण नबनाई आफ्नो आयु लम्ब्याउने खेलमा लागेको आरोपसमेत लगाए । उनले भने, ‘तोकिएको मितिमा जसरी पनि निर्वाचन सम्पन्न गराउन आजपाले जनदबाब सृजना गर्नेछ । आवश्यक परे कान समातेर पनि निर्वाचन गराइनेछ ।’