सिराहा, ७ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरेका छन् ।
शुक्रबार सिराहाको सुखीपुर नगरपालिका–१० दहिपौरी बजारमा दशैं, दिपावली, छठ पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले सुशीला कार्की र ओमप्रकाश अर्यालले ‘देश नबुझेको र जनता नै नचिनेको’ आरोप लगाउँदै उनीहरूको नेतृत्वमा देशले निकास नपाउने टिप्पणी गरे । उनले बरु झन् सङ्कटको भुमरीमा फसेको आरोप लगाएका हुन् ।
अध्यक्ष साहले भने, ‘सुशीला कार्कीहरू जेनजी आन्दोलनका अपहरणकारीहरू हुन् । जेनजी विद्रोहमा जसरी केपी ओली र रमेश लेखकहरूले दमन गरे, त्यो भन्दा बढी युवाहरूको सपना अनि भावनामाथि यी सुशीला र ओमप्रकाश अर्यालहरूले फोहोरी खेल खेलेका छन् । षड्यन्त्र गरेका छन् । छलछाम गरेका छन् । यो कुरा अहिले न्यायप्रेमी जनताले थाहा पाइसके ।’
प्रधानमन्त्री सुशीला कार्कीको सत्तामा उदय नै अदृश्य तवरले भएकोले यो सरकारले देशलाई सही दिशा दिन नसक्ने साहको टिप्पणी छ । उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई केपी ओली र आरजु राणा देउवाकै नयाँ भेरिएन्टको संज्ञा दिए ।
उनले थपे, ‘यिनीहरूले देशलाई निकास दिन सक्दैनन् । बरु, देशलाई झनै षड्यन्त्रको भड्खालोमा हालेका छन् । ढुक्क हुनुहोस्, यिनीहरूले देशलाई लिड गर्न सक्दैनन् । बरु, संक्रमणकालको फाइदा लिएर व्यक्तिगत डिल गर्न तत्पर देखिन्छन् । हामीले देशव्यापी रूपमा अब यो सरकारको भण्डाफोर गर्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्