समाचार

धारिलो हतियार प्रहार गरेर हत्या



काठमाडौँ, १४ कार्तिक । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिना टोलमा छोराले आमाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगाका अन्दाजी ३५ वर्षीय कविराम बस्नेतले ५० वर्षीया आमा धनीकलाको  धारिलो हतियार फरुवा (खाडल खन्न प्रयोग गरिने औजार) ले हानेर हत्या गरेका हुन् ।

कविरामले घरमा सुतिरहेकी आमालाई फरुवाले टाउकोमा प्रहार गरेका थिए । त्यसबाट गम्भीर घाइते भएकी धनीकलालाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ ल्याइएको थियो ।  अस्पतालले आज बिहान सवा आठ बजे मृत घोषणा गरेको हो ।

हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । हत्या गरेर भाग्दै गरेका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएका प्रहरी टोलीले छिन्चु बजार एरियाबाट नियन्त्रणमा लिएको छ ।