अर्थ

७ उद्योगले किस्ता बुझाएपछि विद्युत् जडान



काठमाडौँ, १९ कार्तिक । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत प्रिमियम रकमको बक्यौता विवादमा थप तीन उद्योगले पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मंगलबार भलवारी स्वचालित कारखाना, एसआर फुड्स र एसआर स्टिलले बक्यौता रकम बुझाएका हुन् । पहिलो किस्ता बुझाएसँगै यी उद्योगमा बिजुली जोडिसकेको प्राधिकरणले जनाएको छ ।

उद्योगहरूले माघ २०७२ देखि वैशाख २०७५ सम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । एसआर फुड्सको १ करोड ४८ लाख, भलवारी स्वचालित कारखानाको ३० लाख, एसआर स्टिल इन्डस्ट्रिजको १६ लाख रुपैयाँ बक्यौता छ । त्यसलाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका हुन् ।

सोमबार भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले पहिलो किस्ता तिरेका थिए । पञ्चकन्या प्लास्टिकको २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता छ ।

प्राधिकरणका अनुसार १४ उद्योगमा अझै बिजुली काटिएको छ । कुल २५ उद्योगमध्ये ३ उद्योग पहिल्यै बन्द थिए । तिहारकै बीचमा गोयन्का फुड्स र घराना फुड्सले किस्ता तिरेपछि बिजुली जोडिएको थियो । सोमबार ४ र मंगलबार ३ उद्योगले किस्ता बुझाएका हुन् ।