राजनीति

पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको आग्रह



काठमाडौँ, २० कार्तिक । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन आग्रह गरेका छन् ।

बिहीबार बिहान नयाँ बानेश्वरमा डा. भट्टराईको अग्रसरतामा नेसपा नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपाल, विवेकशील साझा, उज्यालो नेपाल अभियानका नेताहरूसँग भट्टराईले छलफल गरेका हुन् ।

भट्टराईले जेनजी विद्रोहका कारण दुलामा लुकेका पुराना भ्रष्ट नेताहरूले फेरि टाउको उठाउने प्रयास गरेको भन्दै उनीहरूलाई निर्वाचनबाटै परास्त गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्ने प्रस्ताव राखेको छलफलमा सहभागी भएका सुदन किरातीले जानकारी दिए ।

उनले भने, ‘बाबुराम भट्टराईको अग्रसरतामा पुराना भ्रष्ट शक्तिहरूलाई कसरी परास्त गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भयो । जेनजी विद्रोहपछि पुराना भ्रष्ट शक्तिहरू रूपान्तरित हुनुभन्दा अझै हुँकार गर्न थालेका छन् । जेनजी विद्रोह सामान्यकरण हुँदै गयो । भ्रष्ट दलहरूलाई निर्वाचनबाट नै पराजित गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्छ भन्ने प्रस्ताव राख्नुभयो’, ।