Banner News

सुदूरपश्चिममा ६ हजारभन्दा बढी नयाँ मतदाता थपिए



धनगढी, २१ कार्तिक । सुदूरपश्चिम प्रदेशमा ६ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका अनुसार असोज १० देखि कात्तिक १७ सम्मको अवधिमा ६ हजार २१२ नयाँ मतदाता सूचीकृत भएका छन् । थपिएका नयाँ मतदातामध्ये ४ हजार ८३ पुरुष, २ हजार १२७ महिला र दुई जना अन्य छन् ।

कैलालीमा १ हजार १९५ पुरुष र ६५३ महिला गरी कुल १ हजार ८४८ जना, कञ्चनपुरमा १ हजार ५३ पुरुष र ५४० महिलासहित १ हजार ५९३ जना, अछाममा ४१४ पुरुष र २११ महिला गरी कुल ६२५ जना,  बझाङमा ३६३ पुरुष र १७९ महिला गरी कुल ५४२ जना, बैतडीमा २९३ पुरुष र १५५ महिला गरी कुल ४४८ जना, बाजुरामा २१९ पुरुष, १२२ महिला र दुई अन्यसहित कुल ३४३ जना, डोटीमा १७० पुरुष र ७५ महिला गरी कुल २४५ जना र डडेलधुरामा १२६ पुरुष र ६५ महिला गरी कुल १९१ जना थपिएका हुन् ।

निर्वाचन आयोगले अध्यादेशमार्फत कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने समय तोकेको छ । यो अवधिमा नागरिकता पाएर १८ वर्ष उमेर पूरा भएका तर नामावलीमा नाम नभएका नागरिकहरूले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।