अर्थ

३१ थान आइफोन बरामद



काठमाडौँ, २१ कार्तिक । भन्सार छलेर रुपन्देही ल्याइएका ३१ थान आइफोन प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनबाट ती मोबाइल बरामद गरेको हो ।

बरामद गरिएका मोबाइलहरूको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरी टोली देखेपछि मोबाइल बोकेका व्यक्तिहरू सडकमा झोला फ्याँकेर भागेका थिए।

बरामद गरिएका सामानका सम्बन्धमा आवश्यक कागजात नभएको र कसैले सम्पर्क नगरेका कारण ती मोबाइल भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यस्तै, प्रहरीले भन्सार चोरी तस्करीमार्फत नेपाल ल्याइएका ९४ थान जिन्स पाइन्ट, ८४ थान कुर्ता सेट, १६ थान सल, १०८ जोर मोजा, १६ थान कुर्ता, गुल मञ्जन ४८ पिस र २ बोरा केराउका रहेका छन् ।

यी सबैको मूल्य करिब ९० हजार रुपैयाँबराबर हुने अनुमान गरिएको छ । भन्सार छलेर सामान ल्याउनेको खोजी भइरहेको प्रहरीको भनाइ छ ।