भक्तपुर, २५ कार्तिक । राष्ट्रको लागि २ घण्टा अभियानले विद्यालयलाई वातावरणमैत्री बनाउन विशेष कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
राष्ट्रको लागि २ घण्टा अभियानले विद्यालयलाई वातावरणमैत्री बनाउन सूर्यविनायक नगरपालिकाको सहयोग र सहकार्यमा सोमबार विशेष कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सूर्यविनायक नगरपालिका, वडा नं.५ स्थित युनिक एकेडेमी सेकेण्डरी स्कूलमा नगरपालिका कार्यालय एवं जिल्लाभित्रका विद्यालयका शिक्षक प्रतिनिधि रोहवरमा सो गोष्ठि सम्पन्न गरेको हो ।
अभियानले जिल्ला भित्रबाट प्रथम चरणमा ६ वटा विद्यालय छनौट गरि ति विद्यालयलाई वातावरण मैत्री विद्यालय घोषणा पश्चात अन्य विद्यालय क्रमशःसो कार्यक्रम लागु गरिदैं लगिने अभियानका अध्यक्ष मधु ढुगेंलले जानकारी गराउनुभयो । त्यसैगरि वातावरण प्रदुषणको प्रभाव बारे विद्यार्थीहरुमा सचेतना, यसको संरक्षण र सम्वद्र्धनको व्यवहारीक ज्ञान,युवापुस्तामा प्राकृतिक र दिगो जीवनयापन सम्बन्धि अभ्यासप्रति जिम्मेवारी बनाई युवा पुस्ताहरुमा स्वदायित्वबोधको जागरण गराउने यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको अध्यक्ष ढुगेंलले प्रष्ट पार्नुभयो ।
सूर्यविनायक नगरपालिका, शिक्षा शाखा प्रमुख रत्न कटुवालले अभियानद्धारा थालनी गरिएको यस कार्यक्रमको लागि अभियानलाई धन्यवाद व्यक्त गर्दै सूर्यविनायक नगरभित्रका सम्पूर्ण विद्यालयमा यस कार्यक्रमलाई एकैपटक लागू गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो । प्रमुख कटुवालले सो बमोजिम आवश्यक योजना प्रस्ताव पेश गर्न अभियानलाई आग्रह समेत गर्नुभएको छ ।
वातावरणमैत्री विद्यालय र विद्यार्थी कार्यक्रम अन्तर्गत थालनी गरिएको यस कार्यक्रमलाई औपचारिक रुपमा मंसिरको पाहिलो हप्ताबाट ६ वटै विद्यालयमा शुभारम्भ गरिने योजना रहेको अभियानका उपाध्यक्ष नरेश रन्जितले अवगत गराउनु भयो । त्यसैगरि अभियानका अर्का उपाध्यक्ष उत्तरा नेपालले वातावरणीय प्रदुषणलाई न्यूनिकरण गर्न विद्यालय तहदेखिनै विद्यार्थीहरुलाई सचेत गराउन सक्दा मात्रै विशेष प्रभावकारी हुने विस्वास व्यक्त गर्नुभएको छ ।
कार्यशाला गोष्ठीले छनौट गरिएको विद्यालयमा इको क्लब बनाउने, विद्यालयभित्र अध्ययन गर्ने विद्यार्थीहरुलाई हप्ताको कम्तीमा १ दिन फोहर व्यवस्थापनलगायत हरियाली प्रवद्र्धन हेतु एउटा निश्चित समूह बनाई प्रयोगात्मक अभ्यास गराउने, अभियानबाट हरेक विद्यालयमा कम्तीमा ३० वटा गमला प्रदान गर्ने, मल बनाउने प्रविधिको बारेमा सुक्ष्म तवरले प्रशिक्षण गराउनेलगायतका विषयहरुमा सहमति जुटेको अभियानका महासचिव नबराज काफ्लेले बताउनुभयो । विद्यालयका प्रतिनिधिहरुद्धारा कार्याशाला गोष्ठीमा उठाईएका थप रायसुझावलाई क्रमशः विद्यालयसँगको आपसी सहमतीमा कार्यान्वय गर्दै लगिने यस गोष्ठी कार्यक्रमका सहजकर्ता मिना पोखरेलले जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्