बुटवल, २९ कार्तिक । नेकपा (एमाले) रुपन्देहीले शुक्रबार बुटवलमा बृहत जनप्रदर्शन र सभा गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना, संविधानको रक्षा तथा युवा पुस्ता–विशेषगरी जेनजी–का माग पूरा गर्ने क्षमतामा आफ्नो पार्टी सक्षम रहेको दाबी गर्दै एमाले जनप्रदर्शनसहित सभा गरेको हो ।
राजमार्ग चौराहाबाट सुरू भएको ¥याली बुटवलको ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो । ¥याली र सभामा केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा रुपन्देहीका १६ वटै पालिकाबाट उल्लेख्य संख्यामा कार्यकर्ता, समर्थक र युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान सरकारले संविधानविपरीत र जनमतको अवहेलनासहित शासन गरिरहेको आरोप लगाए । उनले भने, “आजको सरकार संविधानको अक्षर र भावना दुवै विपरीत चलेको छ । यस्तो असंवैधानिक सरकारको अन्त्य एमालेले नै गर्छ ।”
एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले प्रतिनिधिसभा पुनस्र्थापनाको माग समयको आवश्यकता भएको उल्लेख गर्दै स्थिरता र सुशासनका लागि एमालेकै नेतृत्व अपरिहार्य भएको धारणा व्यक्त गरे । उनका अनुसार, जारी राजनीतिक अस्थिरता लगायतका समस्या समाधान गर्न सक्षम नेतृत्व एमालेसँग मात्रै छ ।
एमाले रुपन्देहीका जिल्ला अध्यक्ष यज्ञ गैरेले युवाहरूका रोजगार, अवसर र क्षमता विकासका मागबारे जोड दिँदै जेनजी पुस्ताले अपेक्षा गरेको परिवर्तन एमालेले मात्र पूरा गर्न सक्ने दाबी गरे । “युवा पुस्ताको ऊर्जा राष्ट्र निर्माणको मूल आधार हो । उनीहरूको माग सुन्न र सम्बोधन गर्न सक्षम पार्टी एमाले मात्र हो,” अध्यक्ष गैरेले भने ।
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघका पूर्वउपाध्यक्ष राजु गुरुङले सरकार निर्माण प्रक्रिया असंवैधानिक र गैर–लोकतान्त्रिक भएको टिप्पणी गर्दै प्रतिपक्षको भूमिकाबाट एमाले जनताको अधिकारको पक्षमा दृढतापूर्वक खडा रहेको बताए ।
युवा संघका पूर्वमहासचिव सुमन पुरीले युवा नेतृत्व, डिजिटल अर्थतन्त्र, रोजगारी र परिवर्तनशील प्रविधिमा जेनजीको आकांक्षा सम्बोधन गर्ने योजनासहित एमाले अघि बढेको बताए । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य सागर न्यौपानेले विद्यार्थीसँग जोडिएका शिक्षा, रोजगारी र अवसरसम्बन्धी मुद्दामा एमालेले उठाउँदै आएका कदमलाई उल्लेख गरे ।
सभामा वक्ताहरूले संविधान, लोकतन्त्र र जनअधिकारको संरक्षणका लागि हुने संघर्षमा जनताको साथ अपरिहार्य भएको दोहो¥याएका थिए ।










प्रतिक्रिया दिनुहोस्