राजनीति

जेनजी आन्दोलन राष्ट्रियता र नेपाली जनताविरुद्ध थियो: नेतृ झाँक्री



गुल्मी, २९ कार्तिक । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलन राष्ट्रियता र नेपाली जनताविरुद्ध भएको आरोप लगाएकी छन् ।

एमालेमा फर्केपछि पहिलो पटक गुल्मीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन संविधान विरुद्ध भएको जिकिर गरिन् । २३ र २४ गतेको घटनाको जेनजी विद्रोहमा आफ्नो हिस्सेदारी यति सजिलै लिन नखोज्न आग्रह गरिन् ।

उनले भनिन्, ‘भदौको २३ र २४ गतेको घटनालाई हामीले असाध्यै कहालीलाग्दो र जीवनमा, हाम्रो जीवनमा, हामी बाँचेको समयमा कहिल्यै नदेखिएको यस्तो घटनाको रूपमा लिएका छौँ । यो किन भयो ? यो कसको विरुद्ध थियो? यो कुरा आज जेनजी विद्रोहको नाममा आफ्नो स्टेबल र दाबी गरिरहने सबै साथीहरूलाई, सबै मित्रहरूलाई म भुलभुलैयामा नपर्नको लागि अनुरोध गर्न चाहन्छु । यो यत्तिकै भएको चीज थिएन । त्यो किन भएको थियो? भन्दा यो देशको राष्ट्रियताको विरुद्धमा भएको थियो । नेपाली जनताको विरुद्धमा भएको थियो । नेपालको सार्वभौमिकता, सार्वभौम सत्ताको विरुद्धमा भएको थियो । ६२/६३ सालका ऐतिहासिक क्रान्तिका उपलब्धिको विरुद्धमा भएको थियो । र त्यो उपलब्धिलाई संस्थागत गरेको संविधानको विरुद्धमा भएको थियो । त्यसकारण तपाईँहरूले कसरी दाबी गर्न सक्नुहुन्छ कि त्यो विद्रोहमा हाम्रो साथ र समर्थन थियो भनेर ?’

उनले राष्ट्र र जनताको निम्ति सतिसाल जस्तै भएर एमाले उभिने उनले बताइन् । उनले राष्ट्रियताको बारेमा शिर ठाडो पारेर अविचलित रूपमा सरकार अगाडि बढेपछि पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भएको बताइन् ।