समाचार

सिरक–डसना पसलमा भीषण आगलागी 



काठमाडौँ, २९ कार्तिक । रौतहटको गौर नगरपालिका–५ हनुमान चोक नजिकै रहेको वीरेन्द्र चौरसियाद्वारा सञ्चालित एउटा सिरक–डसना पसलमा आज दिउँसो भीषण आगलागी भएको छ ।

दिउँसो करिब अढाई बजेतिर भएको यस आगलागीमा पसलभित्रका सबै सामग्री जलेर नष्ट भएका छन् । 

प्रारम्भिक अनुसन्धानअनुसार करेन्ट सर्टका कारण जस्ताको छानो भएको कच्ची घरमा रहेको यस पसलमा आगो लागेको हो । आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । 

प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो । दिउँसो साढे ३ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

प्रहरीले विद्युत् सर्टका कारण आगो लागेको प्रारम्भिक जानकारी दिए पनि यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।