काठमाडौँ, ३० कार्तिक । मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सांसदका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश छलफल भोलीलाई सारिएको छ ।
प्रदेश प्रमुखको जवाफ ‘महान्यायाधिवक्तामार्फत पेस गर्नू’ भन्नुपर्नेमा यही कात्तिक २६ गतेको आदेशमा अन्यथा भएको भन्दै आज न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजालासले अन्तरिम आदेश छलफल सोमबारका निम्ति हुने गरी पेसी तोकेको हो ।
आइतबार न्यायाधीशद्वयको इजलासले मधेस प्रदेश प्रमुखको जवाफ पेस गर्दै छलफलमा उपस्थित हुन महान्यायाधिवक्ता कार्यालयलाई आदेश दिएको छ ।
यादवले संविधानको धारा १६८(२) मा नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नलिँदै राजीनामा दिएकाले प्रदेश प्रमुखले त्यही धाराअनुरूप पुनः आह्वान गर्नुपर्ने दाबी गर्दै १६८(३) अनुसार नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई गरेको नियुक्तिविरुद्ध दुईतिहाइ सांसदको हस्ताक्षरसहित रिट दायर गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्