काठमाडौँ, १ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् । यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ।
एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट तीन दिन अगाडि नै बिक्री भइसकेको छ । क्यानका सचिव पारस खड्काले थप दर्शकलाई घरमै बसेर हेर्न अनुरोध गरेका छन् ।
एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ । एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।
उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्