राजनीति

भदौ २३ र २४ को घटना आन्दोलन हैन, आतङ्क र विध्वंस हो: महासचिव पोखरेल



बुटवल, २ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान र सांसदले नचिन्ने व्यक्ति अहिले देशको प्रधानमन्त्री भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालद्वारा सोमबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले भदौ २३ र २४ गतेका घटना पछाडि मुलुकलाई सहयोग पुग्छ कि भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर संसद् भित्रबाट नै समाधान खोज्न राष्ट्रपतिलाई अनुरोध गर्नुभएको बताउनुभयो । तर अहिलेको सरकार संविधान बाहिरबाट बनेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भदौ २३ र २४ को घटना आन्दोलन नभई आतङ्क र विध्वंस भएको बताउनुभयो । जेनजी आन्दोलनको नाममा भएका क्रियाकलाप आपराधिक क्रियाकलाप भएको उहाँको भनाइ छ । डिप स्टेटको फण्डिङ अन्तर्गत भदौ २३ र २४ को घटना भएको उहाँले बताउनुभयो । आज सरकारमा तिनै मानिसहरूको बोलवाला भएको उहाँको भनाइ छ ।

उहाँले भदौ २३ र २४ को घटना हुनुको दुईवटा कारण प्रमुख रहेको उहाँले बताउनुभयो । ‘युवाहरू भावनामा भड्केर र अपराधीहरू लुटपाटको अवसर पाएर भदौ २३ र २४ को घटनामा संलग्न भए’, उहाँले भन्नुभयो ।

पोखरेलले फागुन २१ गते निर्वाचन हुने कुनै सम्भावना नभएको पनि बनाउनुभयो । अहिलेको सरकार चुनाव गराउने मनस्थितिमा नै नभएको बताउँदै उहाँले प्रतिनिधि सभा पुनर्स्थापना नै एमालेको मूल एजेण्डा भएको बताउनुभयो । तथापि देशको सबैभन्दा ठुलो राजनीतिक शक्तिका हिसाबले एमाले चुनावबाट नभाग्ने उहाँले स्पष्ट पार्नुभयो । ‘यो सरकार चुनावका लागि बनेको होइन, चुनाव गराउँदा पनि गराउँदैन’, उहाँले भन्नुभयो ।

संविधान संशोधनमार्फत युवापुस्ताका माग सम्बोधन गरी ताजा जनादेशमा जानुपर्ने आजको आवश्यकता भएको उहाँले बताउनुभयो । अदालत र सडक दुवैबाट संसद् पुनःस्थापना भएको इतिहास रहेको उल्लेख गर्दै पोखरेलले अहिले पनि त्यही उपाय प्रभावकारी हुने बताउनुभयो ।

पोखरेलले लोकतान्त्रिक व्यवस्था बलियो हुनको लागि बलिया राजनीतिक शक्ति आवश्यक पर्ने बताउनुभयो । यसको लागि देश दुई ध्रुवमा विभाजित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रजातान्त्रिक समाजवाद कि वैज्ञानिक समाजवादमा जाने भन्ने दुई ध्रुवमा नेपालका राजनीतिक शक्ति विभाजित हुनु पर्ने उहाँको धारणा छ । यी दुई ध्रुव नबन्दासम्म देश राजनीतिक अस्थिरतामा परिरहने उहाँले बताउनुभयो ।

उहाँले एमालेको महाधिवेशनको सन्दर्भमा सोधिएको प्रश्नमा विधान महाधिवेशनले नीतिगत विषयका सबै कुरा टुङ्ग्याएको बताउँदै आउने महाधिवेशन नेतृत्व चयनको महाधिवेशन मात्र हुने बताउनुभयो ।