राजनीति

एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गर्दै



काठमाडौँ, २ मंसिर । नेकपा (एमाले)ले नेसनल भोलेन्टियर फोर्स गठन गर्ने भएको छ ।

काठमाडौँको माइतिघर मण्डलामा आगामी मंसिर ५ गते विहान ११ बजे नेसनल भोलेन्टियर फोर्स गर्न लागिएको एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले जानकारी दिनुभएको छ । यसले एमाले पार्टी तथा नेता र नेतृत्वको रक्षा, सामाजिक सहयोग, अपराध न्युनिकरणमा प्रहरी प्रशासनलाई सहयोग, दलाल, तस्करी, अपराधीलाई कानुनी कठघरामा ल्याई सुशासन कायम गर्न राज्यलाई सहयोग, कानुनलाई हातमा नभई साथमा लिएर अराजकता न्युनिकरण गर्ने, सामाजिक सञ्जालको अपराध तथा फोहोरीपनलाई निस्तेज पार्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिसन बोकेका तत्वलाई खबरदारी गर्ने, वैदेशीक हस्तक्षेत्र रोक्न पार्टी तथा सरकारलाई रणनैतिक कार्य गर्ने लगायतका लक्ष्यहरु बनाइएको नेता बस्नेतले बताउनुभयो ।

भोलेन्टियर फोर्स गठन गर्नुपूर्व एमालेले ५ गते माइतिघरबाट नयाँ बानेश्वर हुँदै पुनः बबरमहलको कार्की ब्याङक्वेटसम्म शान्तिपूर्वक मार्च पास गर्ने बताइएको छ । जसमा एमाले तथा देश र जनताको पक्षका कम्तिमा १५ हजारको संख्यामा जनताको सहभागिता हुने दावी गरिएको छ । उक्त घोषणासँगै तीन वटै तहमा सोही लक्ष्यका साथ देशभर भोलेन्टियर फोर्स एमालेले गठन गर्ने भएको छ । एमालेमा हाल २३ वटा जनवर्गीय संगठनहरु रहेका छन् भने उक्त फोर्स गठन भए पश्चात एक थप गरी २४ वटा बनाउने तयारी रहेको छ । तर एमालेको विधानमा भने २३ वटा मात्र जनवर्गीय संगठन रहने भनि उल्लेख गरेको छ । कार्यक्रममा सम्पूर्ण राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनता पक्षधरलाई उपस्थितीको लागि आह्वान गरिएको छ ।

जेनजी आन्दोलन पछि चौतर्फी रुपमा एमाले र एमालेको नेतृत्वप्रति आक्रमण तिव्र भएपछि रक्षात्मक ढंगले एमाले अगाडी बढेको देखिन्छ । नेतृत्वलाई सरकारले दिँदै आएको सुरक्षा कटैती तथा जनतासमेत डराउँदै बस्नुपर्ने अवस्था बनेपछि एमालेले देश र जनताको सुरक्षा एमालेको कार्यकर्ताले दिने सन्देस प्रवाह गर्न खोजिएको छ । जेनजी आन्दोलनको बहानामा हजारौं प्रहरीका हतियार तथा कैदीवन्दी फरार रहेकाले जनतामा भइरहेको त्रासलाई न्युनिकरण गर्ने रणनीतिका साथ एमालेले उक्त फोर्स घोषणा गर्न लागेको बताइएको छ ।
५ गतेको मार्च तथा भोलेन्टियर फेर्स गठन कार्यक्रममा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफैं सडकमा आउनुहुने भएको छ । उहाँकै निर्देशनमा उक्त फोर्स गठन गर्ने तयारी भएको बताइएको छ । देश र जनताको पक्षमा एमाले जहिले पनि अटल र अडिक रहेको सन्देश दिन ओली आफैं सडकमा उत्रन लाग्नुभएको बताइएको छ । कार्यक्रमबाट एमालेमा आस्थावान जोसुकै नेपाली युवा संगठित भएर सामाजिक कार्य गर्न सक्ने बताइएको छ ।