Banner News

एमसीसी कम्प्याक्टका लागि नेपालले पायो थप अनुदान



काठमाडौँ, ३ मंसिर । ‘एमसीसी नेपाल कम्प्याक्ट’का लागि नेपालले थप ७ अर्ब ८ करोड बराबरको अतिरिक्त अनुदान प्राप्त गरेको छ । 

नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल सम्झौतामा ५ करोड अमेरिकी डलर अनुदान रकम थप गर्ने निर्णय भएको जानकारी गराएको हो । 

यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।

यो थप स्रोतले प्राथमिकताप्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउनेजस्ता सो सम्झौताका मुख्य उद्देश्यहरू पूरा गर्न मद्दत गर्ने दूतावासको भनाइ छ ।