अर्थ

४३९ मेगावाटको बेतन कर्णालीमा लगानी स्वीकृत



काठमाडौँ, ४ मंसिर । ४ सय ३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा लगानी बोर्डले ९३ अर्ब ४० करोड ७ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । 

बोर्डको ६७ औं बैठकले परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीसहितको बैठकले आर्थिक वर्ष २०८१/८२ को लगानी बोर्डको कार्यालयको प्रगति समीक्षा गर्दै २०८२/८३ को वार्षिक कार्ययोजनासमेत स्वीकृत गरेको छ ।

बैठकले ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर विश्‍वनाथ पौडेललगायत सहभागी थिए ।