समाचार

हरियो धनियाँ र काँक्रोमा अत्याधिक विषादी



काठमाडौँ, ४ मंसिर । फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी फेला परेको छ ।

आज भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत  ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले आज कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा हरियो धनियाँ र काँक्रोमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ र काँक्रो उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट गरेको दर ३५ प्रतिशतभन्दा कम हुँदा उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड छ ।