राजनीति

एमालेको एकसाथ ४ तयारी



काठमाडौँ, ५ मंसिर २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) एकसाथ चार बाटोमा अघि बढेको छ ।

एमालेले प्रतिनिधिसभा पुनःस्थापना, त्यसका लागि सडक संघर्ष, प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी लडाइँ लड्ने र निर्वाचनका लागि भित्री तयारी गर्ने गरी एकसाथ चार रणनीति लिएको छ । एमालेको केन्द्रीय कमिटी, सचिवालय र विघटित संसदीय दलको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी बाटो खोज्ने निर्णय गरिसकेको छ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गर्न पूर्वमुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई जिम्मा दिइएको छ । आउने सातासम्म रिट दायर गर्ने तयारी छ ।

सँगसँगै चुनावमा जाने भित्री तयारी पनि एमालेको छ । त्यसअनुसार कमिटी र कार्यकर्तालाई तयार रहन निर्देशन दिइसकेको छ । एमालेले सबै पालिका, ७७ जिल्लामा गत दुई साता जागरण अभियानका नाममा चुनाव लक्षित कार्यक्रम गरेको छ । २५ कात्तिकमा देशभरका पालिकामा जागरण सभा र २९ कात्तिकमा सबै जिल्लामा प्रतिनिधिसभा पुनःस्थापनाको माग राखी सभा गरेको हो । ६ मंसिरमा काठमाडौंमा ठूलो सभा गरेर प्रतिनिधिसभा पुनःस्थापनाका लागि दबाब दिने तयारी एमालेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताले ‘एमाले चुनावबाट भाग्ने पार्टी नभएको’ बताउँदै आएका छन् । ‘एमाले वैधानिक पार्टी हो । चुनावमा विश्वास गर्छ । जहिले पनि चुनावलाई ध्यानमा राखी कार्यक्रम तय गर्छ’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘तर प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले हाम्रो पहिलो माग प्रतिनिधिसभा पुनःस्थापनाका लागि कानुनी र सडकबाट दबाब दिने हो ।’

एमालेले निर्वाचनसम्बन्धी कामलाई पनि सडक प्रदर्शनसँगै अघि बढाउने नीति लिएको छ । १० मंसिरसम्म दल दर्ता गर्नुपर्ने निर्वाचन आयोगको समयसीमाभित्रै दल दर्ता गर्ने एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले बताए । स्थानीय कमिटीहरूलाई निर्वाचनको तयारी स्वरूप मतदाताको घरदैलो केन्द्रित कार्यक्रम गर्न पनि एमालेले निर्देशित गरिसकेको छ ।