काठमाडौँ, ६ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको सुरक्षा निकायले आफ्नो जिम्मेवारी ठिक ढङ्गले बोध गर्न नसकेको बताउनुभएको छ ।
नेपाल निर्माण उद्योग परिषद्को प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले राज्यको सुरक्षा अङ्गले ठिक ढङ्गले आफ्नो जिम्मेवारी पुरा गरेको भए देशमा यस्तो अराजकता नफैलन बनाउनुभयो । ‘एक प्रकारले भन्ने हो भने नेपालको सुरक्षा अङ्गले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले बोध गर्न नसक्दा अराजकताले प्रश्रय पायो’, उहाँले भन्नुभयो ।
अनावश्यक ढङ्गले मुलुकलाई द्वन्द्वमा लैजाने र अराजकता फैलाउने षडयन्त्रलाई सुरक्षा अङ्गले रोक्न नचाहेको उहाँको भनाइ छ । राजनीतिक नेतृत्वले निर्देशन गर्ने भए पनि त्यसको व्यवहारिक प्रयोग गर्ने अधिकार र जिम्मेवारी सुरक्षा निकायकै भएको उहाँको दाबी छ ।
भदौ २३ र २४ को घटनाले नागरिकको सुरक्षा निकायप्रतिको विश्वास गुमेको उहाँले बताउनुभयो । अहिले नागरिकले विश्वास गर्ने अवस्था नभएको उहाँको धारणा छ ।
नवयुवालाई ढाल बनाएर राष्ट्रलाई कमजोर बनाउने षडयन्त्र अनुसार भदौ २३ र २४ को घटना भएको उहाँले बताउनुभयो । जेनजीको आवरणमा षडयन्त्रकारीहरूले विध्वंस मार्फत सत्ता प्राप्त गरेका उहाँको दाबी छ । अहिलेको प्रधानमन्त्री र मन्त्रीलाई नेपालको संविधानले नचिन्ने उहाँको भनाइ छ ।
संविधान र प्रतिनिधि सभा भित्रैबाट जेनजीले उठाएका माग सम्बोधन गर्ने गरी सरकार बनाउन सक्ने अवस्था हुँदाहुँदै संविधानले राष्ट्रिय मानव अधिकार आयोग बाहेक काहीँ बस्ने अधिकार नदिएको सुशीला कार्की अहिले देशको प्रधानमन्त्री हुनुभएको पोखरेलले बताउनुभयो । संसद् विघटन गर्नु हुँदैन र खिलराज रेग्मीलाई मन्त्रिपरिएको अध्यक्ष बनाउँदा समेत त्यसो गर्नु हुँदैन भने र फैसला व्यक्ति अहिले आफ्नै नजिरलाई उल्टाएर प्रधानमन्त्री बन्नु भएको उहाँको भनाइ छ । ‘अहिलेको सरकारको नेतृत्व संविधानवादको खिलाफमा छ, लोकतन्त्रको खिलाफमा छ, त्यस कारण लोकतान्त्रिक अभ्यासको दृष्टिकोणले यो सरकार असंवैधानिक सरकार हो’, उहाँले भन्नुभयो ।
उहाँले सरकारले घोषणा गरेको फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन कुनै पनि हालतमा नहुने बताउनुभयो । प्रहरीका बन्दुक खोसिएका र जेलका अपराधी बाहिर रहेको अवस्थामा देशका चुनाव हुने कुनै सम्भावना नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
उहाँले मुलुकलाई सही दिशा दिन राजनीतिक दलले भूमिका खेल्नु पर्ने उहाँको धारणा छ । त्यसमा एमाले प्रतिबद्ध रहेको पोखरेलले बताउनुभयो । ‘अहिले असामान्य परिस्थिति छ, असामान्य परिस्थितिमा हाम्रो पार्टी विशेष ढङ्गले अघि बढ्दै छ’, उहाँले भन्नुभयो ।
आजको प्रदर्शनलाई पार्टी कार्यकर्ताको मात्र होइन जनताको पनि समर्थन छ भन्ने कुरा एमालेले देखाउन खोजेको उहाँले बताउनुभयो । काठमाडौंको भय र त्रासलाई हटाउन भोलि एमालेले प्रदर्शन गर्न लागेको पोखरेलले जानकारी दिनुभयो ।
एमालेले विधान महाधिवेशनमा नीतिगत सबै कुरा टुङ्ग्याएको बताउँदै उहाँले अबको महाधिवेशनमा नेतृत्व चयनको काम मात्र हुने स्पष्ट पार्नुभयो ।










प्रतिक्रिया दिनुहोस्