राजनीति

जसपा नेपालद्वारा आन्दोलनको कार्यक्रम घोषणा



काठमाडौँ, ६ मंसिर । जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ ।

सो पार्टीले संविधान संशोधनसहितको माग राखी प्रधानमन्त्री सुशीला कार्कीलाई २८ बुँदे माग बुझाउने तयारी पनि गरेको छ । मङ्सिर १० गते प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको सो पार्टीले जनाएको छ ।

दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले संगठन सुदृढ, चुनाव र सङ्घर्षका कार्यक्रम तय गरेको छ । मङ्सिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजार क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन गर्नुका साथै मङ्सिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम रहेको बताइएको छ ।

मङ्सिर २७ देखि पुस ४ सम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना हुने र प्रदेशस्तरीय विरोध सभाका कार्यक्रम पनि तय गरेको छ ।

साथै पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, पुस १७ गते नेपालगन्ज र भैरहवाका लागि कार्यक्रम तय भएको छ ।