सुर्खेत, ७ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश विकास र समृद्धिको आधार स्तम्भ नै राजनीतिक तथा सामाजिक एकता भएको बताएका छन् । नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीको आठौँ जिल्ला कमिटीको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै उनले कर्णाली पछाडि पर्नुको मुख्य कारण इच्छाशक्तिको कमी होइन, एकतामा देखिएको कमजोरी भएको उल्लेख गरे ।
मुख्यमन्त्री कडेलले पार्टीभित्र र बाहिर देखिने विभाजनात्मक सोचका कारण विकास प्रक्रियामा अगाडि बढ्न नसकेको बताउँदै अब प्रदेश विकासलाई गति दिन सबै पक्ष एकै उद्देश्यका साथ एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए। “कर्णालीलाई अगाडि बढाउने तागत एउटै हो—एकता । हामी अलग–अलग भएर होइन, एउटै आवाज र साझा दृष्टिकोणका साथ अघि बढेमा मात्र कर्णालीले छलाङ मार्न सक्छ,” उनले भने । एमालेले पछिल्ला चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यका साथ जनताको घर–घरमा पुगेको छ । तर वरिपरिको मान्छे नहेरी, आफ्नै हितलाई मात्र प्राथमिकता दिने व्यवहारले संगठन र प्रदेश दुवै कमजोर बन्दै गएको उनले टिप्पणी गरे। “सामूहिक भावना भन्दा व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति त्याग्नैपर्छ । अवसर खोज्ने मात्र होइन, जिम्मेवारी बोकेर अघि बढ्ने समय आएको छ,” मुख्यमन्त्री कँडेलले स्पष्ट गरे ।
बैठकमा उनले हालको राजनीतिक परिस्थिति सहज नभएको उल्लेख गर्दै कठिन अवस्थालाई सहज बनाउन उपयुक्त निर्णय र सही नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए । नेतृत्वको विषयमा पनि कर्णालीले एउटै धारणा बनाउनु आवश्यक छ,” उनले भने ।
उनले सामाजिक सञ्जालको प्रयोगमा पनि जिम्मेवार बन्न नेतादेखि कार्यकर्तासम्म सबैलाई आग्रह गरे। “सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यम मात्र होइन, संगठनलाई बलियो वा कमजोर पार्ने उपकरण पनि हो। त्यसैले सावधानीपूर्वक प्रयोग गर्नुपर्छ,” कडेलको भनाई छ । देशको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले संविधानमाथि प्रश्न उठाउने अवस्था नआओस् भनेर सबै दलले संविधानको रक्षा गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राखे ।
बैठकमा केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल, ठम्मर विष्ट प्रदेश कर्णाली कमिटी अध्यक्ष गुलावजग शाह लगाएको जिल्ला कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्