काठमाडौँ, ७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतान्त्रिक प्रणाली अस्विकार गरेको बताउनुभएको छ ।
शनिबार एमाले बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुशीला कार्की सरकार कृतिम ढंगले गठन भएको बताउनुभयो । ‘यो सरकार लोकतन्त्रका विरुद्ध गठन गरिएको हो । यसले लोकतान्त्रि चरित्र देखाउन सक्दैन’ अध्यक्ष ओलीले भन्नुभयो ‘यो सरकारको संवैधानिक परीक्षण हुनै पर्दछ । संविधानले यसलाई कुनै हालतले उचित ठहर्याउन सक्दैन ।’
मानिसको पुस्तासँग जोडेर जेन जी भनिएकोमा यो शब्दावलीलाई अध्यक्ष ओलीले कृतिमको संज्ञा दिनुभएको छ । ‘जेन जीका नाममा युवाहरुलाई दिग्भ्रमित पार्ने र युवालाई दुरुपयोग गर्ने काम भएको छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘हामी सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा लडिरहेका थियौं । यस्तो बेला युवाहरुलाई भड्काएर हामी विरुद्ध प्रयोग गरियो । देश जलाएर खरानी पारियो ।’
अध्यक्ष ओलीले आफूहरु सत्तामा हुँदा होस वा नहुँदा सधैं वाक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्नु भएको छ । अध्यक्ष ओलीले कुनै नाटक गरेर देश नचल्ने चेतावनी दिनुभएको छ । उहाँले फागुन २१ मा निर्वाचन गराउने कुरा यो सरकारले नसोचेको दाबी गर्नु भएको छ । नहुने निर्वाचनको भ्रममा नपर्न उहाँले सबैलाई आग्रह गर्नु भएको छ । ‘नेतालाई बाहिर जाने आदेश छैन । जेनजीका नामले एयरर्पोट बन्द गरेको छ । प्रहरी माथी आक्रमण गरेको छ । प्रहरीलाई प्रतिवाद गर्ने आदेश छैन’ अध्यक्ष ओलीले भन्नुभयो ‘सरकारलाई प्रहरी पनि एमाले, शसस्त्र पनि एमाले, अदालत पनि एमाले, सेना पनि एमाले जस्तो लाग्न थालेको छ, कर्मचारी पनि एमाले लाग्न थालेको । रेबिज लागेको एउटा जनावरले जता पनि पानी देख्छ ।’










प्रतिक्रिया दिनुहोस्