राजनीति

तनहुँमा आठ हजार ३६६ मतदाता थपिए



तनहुँ, ७ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा आठ हजार ३६६ मतदाता थपिएका छन् ।

गत असोज ९ देखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकामा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । लम्सालका अनुसार कार्यालयमै पुगेर तीन हजार २०० जनाले नाम दर्ता गराए । त्यसमध्ये महिलाको सङ्ख्या एक हजार ३८२ र पुरुषको सङ्ख्या एक हजार ८१८ छ । यस्तै राष्ट्रिय परिचयपत्रमार्फत पाँच हजार १६६ जनाले नाम दर्ता गराए ।

जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता छन् । त्यसमध्ये एक लाख १९ हजार ८९ पुरुष र एक लाख २७ हजार ९१५ महिला रहेको कार्यालयले जनायो ।