राजनीति

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिप्रति उपमहासचिव ज्ञवालीको गम्भीर प्रश्न



काठमाडौँ, १० मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाका बारेमा दिएको अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाउनु भएको छ । आज बिहान सामाजिक सञ्जालमार्फत उहाँले संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्तिसुरक्षाको सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्ति दिएको दाबी गर्नुभएको हो।

उपमहाचिव ज्ञवालीले एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद भएको टिप्पणी गर्नुभएको छ।

ज्ञवालीले भन्नुभयो, ‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो/देखियो। एउटा राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ।’

उहाँले माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य प्रमुख आयुक्तलाई स्मरण गराउनुभयो। ज्ञवालीले यति हुँदा हुँदै पनि संविधान सभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुबैको दुरुपयोगका अनेकौँ घटना घटेको उल्लेख गर्नुभयो। ‘माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य माननीय प्रमुख आयुक्तलाई थाहै हुनुपर्ने हो। भलै संविधान सभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुबैको दुरुपयोगका अनेकौँ घटना घटित भए।’ उहाँले भन्नुभयो, ‘संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन।’