राजनीति

सबै पक्षलाई सहमतिमा ल्याएर सरकारले चुनाव गराउँछ : गृहमन्त्री अर्याल



काठमाडौँ, ११ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले राजनीतिक दल र सबै पक्षलाई विश्वास र सहमतिमै अघि लिएर चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्नेतर्फ अघि बढिसकेको बताएका छन् ।

आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले भने, ‘अहिलेसम्मको अवस्थामा आइपुग्दा सरकारले स्थितिलाई सामान्यीकरण गर्दै देशभर हिंसा र द्वन्द्व अवस्थालाई रोक्न सफल भएको छ ।’

गृहमन्त्री अर्याले गैरदलीय सरकार भएकै कारण विधिको शासनलाई पूर्णरुपले प्राथमिकता दिँदै चुनावबाटै अबको निकास दिन सरकार तत्पर रहेको बताए।

औपचारिक र अनौपचारिक रूपमा अहिलेको सरकारले राजनीतिक दलहरूसँग संवाद र सहमति गरी नै राखेकोले अव आफू पनि गृहमन्त्रीको हैसियतले राजनीतिक दल, नव पुस्ता, र सबै पक्षसँग वार्ता र संवादबाट नै चुनावको वातावरण सुनिश्चित गर्ने तर्फ लागि पर्ने बताए।

धेरैभन्दा धेरै लुटिएका हात हतियारहरू प्रहरी प्रशासनले जफत गरिसकेको हुनाले फरार कैदी बन्दी र लुटिएका हतियारले गर्दा नै चुनाव प्रति विभिन्न शङ्का उपशङ्का राख्नु पर्ने स्थिति नरहेको उनको भनाइ थियो।

उनले भने, ‘हिंसा हामी सबैका लागि वर्जित छ, यो हुनु हुन्थेन र अव पनि यो हुने कुरा हाम्रो सरकार सजक र संवेदनशील छ।’