काठमाडौँ, १२ मंसिर । नेपालसँग ४० मेगावाट बिजुली किन्दै आएको बंगलादेशले थप २० मेगावाट पनि किन्ने सहमति गरेको छ ।
बंगलादेशको ढाकामा बिहीबार भएको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा उक्त सहमति भएको हो । नेपालका ऊर्जा सहसचिव सन्दीपकुमार देव र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अली रेजाको सहअध्यक्षतामा बसेको संयुक्त कार्यदल बैठकले गरेको सिफारिसलाई सचिवस्तरीय छलफलबाट सहमति गरिएको हो ।
नेपालका तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेशका विद्युत् ऊर्जा तथा खनिज सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बैठक बसेको हो । बंगलादेशसँग भएको ४० मेगावाट बिजुली खरिद–बिक्रीको सम्झौताअनुरूप नै थप २० मेगावाट बिजुली किन्न आवश्यक प्रक्रिया पूरा गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहेका देवले बताए ।
‘बंगलादेशलाई ४० मेगावाट बिजुली बिक्री गरिरहेका छौं, प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिक्री गर्ने सम्झौता भइसकेको छ, सोही सम्झौता दरकै आधारमा थप २० मेगावाट बिजुली पनि बेच्ने सहमति भएको हो,’ उनले भने । थप २० मेगावाट बिजुलीका लागि नेपाल र बंगलादेशले आवश्यक प्रक्रिया पूरा गरी जुन १५ देखि खरिद–बिक्री गर्ने देवले जनाए ।










प्रतिक्रिया दिनुहोस्