राजनीति

नेपाल र युरोपेली सङ्घको संयुक्त आयोगको बैठक सम्पन्न



काठमाडौँ, १३ मंसिर । नेपाल र युरोपेली सङ्घबिचको संयुक्त आयोगको १६ औँ बैठक सम्पन्न भएको छ ।

बेल्जियमको ब्रसेल्समा शुक्रबार सम्पन्न बैठकमा विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय सहकार्यलगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ ।

बैठकमा सङ्घका तर्फबाट नेपाल सरकारले आर्थिक अनुशासन, सुशासन, जबाफदेहिता तथा सेवा विस्तारमा केन्द्रित रहेर गरिरहेको कामको  प्रशंसा गरिएको थियो । नेपालले दिगो विकास लक्ष्य प्राप्तिमा भइरहेको प्रगति प्रस्तुत गर्दै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र लगानी प्रवर्द्धनमा युरोपेली सङ्घ तथा नेपालबिचको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गरेको थियो । नेपालले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई कानुनअनुसार शीघ्र निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको थियो ।

हवाई सुरक्षा सुधारलाई नेपालले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै युरोपेली सङ्घको सन २०२३ को सेप्टेम्बरमा भएको मूल्याङ्कन भ्रमणमा उठेका विषय समाधान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।  नेपालले युरोपियन युनियन एयर सेफ्टी सूचीबाट नेपाली एयरलाइन्सलाई हटाइदिन पुनः अनुरोध गरेको छ ।