राजनीति

एमाले महाधिवेशन प्रतिनिधि छनोटमै तीव्र प्रतिस्पर्धा



काठमाडौँ, १३ मंसिर । एमालेको ११ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन हुन रस्साकसी सुरु भएको छ ।

आजसम्म प्रतिनिधि चयन गर्ने कार्यतालिका छ । नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाले दुवै पक्ष आफ्ना प्रतिनिधि चयनको गृहकार्यमा छन् । भूगोलबाट १ हजार १ सय ३५ चयन गर्नुपर्ने भएकाले सबै जिल्लामा संयन्त्र परिचालन गरेका छन् । अरू केन्द्रीय कमिटी, विभाग, विशेष समितिबाट चुनिनेछन् । उत्साहका साथ प्रतिनिधि चयन भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

संस्थापन र पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने भएकाले प्रतिनिधि चयनको हिसाबकिताब सुरु भएको छ । २७–२९ मंसिरमा काठमाडौंमा हुने ११ औं राष्ट्रिय महाधिवेशनअघि पूर्वका जिल्लाहरूमा प्रतिनिधि छनोट प्रक्रियामा ठूलो रस्साकसी देखिएको छ । कोशीका १४ जिल्लाबाट खुला १ सय १७, महिला ६४, ४० वर्षमुनिका युवा २९ र १६ जना दलित गरी २ सय २६ प्रतिनिधि छानिँदै छन् । यी पदका लागि दोब्बरभन्दा बढी उम्मेदवारी परेको छ ।

यसरी छानिनेछन् प्रतिनिधि

महाधिवेशन प्रतिनिधिका केन्द्रीय कमिटी सदस्य ३५५, केन्द्रीय अनुशासन आयोग २९, लेखा आयोग ३०, निर्वाचन आयोग २५, सल्लाहकार परिषद्बाट निर्वाचित हुने २५ सिधै चयन हुनेछन् । निर्वाचित प्रतिनिधिका रूपमा स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा कार्यरत पार्टी सदस्यहरूबाट कम्तीमा दुई जना महिला सदस्यसहित पाँच जनाका दरले निर्वाचित हुने प्रतिनिधि ४५ जना हुनेछन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यरत पार्टी सदस्य १ हजार २ सयसम्म पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा र कम्तीमा एक जना महिलासहित ४ जना प्रतिनिधि छानिनेछ । कुनै प्रदेशमा न्यूनतम १ हजार २ सय पार्टी सदस्यमा थप ८ सय सदस्य नाघे थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक थप ८/८ सय नाघे थप निर्वाचित खुला प्रतिनिधि एकजना छानिनेछ । त्योभन्दा बढी भए सोही अनुपातमा पहिलो ८ सयमा महिला र अन्यमा खुला निर्वाचित प्रतिनिधि छानिनेछ ।

विशेष जिल्लामा १ हजारमा २ सय जना सदस्यसम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिलासहित तीन जना निर्वाचित प्रतिनिधि सुनिश्चित गरिएको छ । विशेष जिल्लाअन्तर्गत निर्वाचित प्रतिनिधि संख्या करिब ४७ जना आउनेछन् । दलित प्रतिनिधिका रूपमा भूगोलका जिल्लाअन्तर्गत ५ सयसम्म दलित पार्टी सदस्यबाट कम्तीमा एक जनाका दरले प्रतिनिधि निर्वाचित हुनेछन् । त्यस क्षेत्रमा सदस्य संख्या ५ सय नाघे प्रत्येक थपमा अर्को एक जना र त्यसभन्दा बढी भए सोही अनुपातमा (तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुने गरी) दलित प्रतिनिधि ८१ जनाले महाधिवेशनमा भाग लिनेछन् ।

मजदुर प्रतिनिधि चयनका लागि भूगोलका ७ प्रदेशअन्तर्गत कार्यरत श्रमिक पार्टी सदस्यबाट कम्तीमा तीन महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रतिनिधिको संख्या ४९ जना रहनेछ । भारत प्रवास विशेष निर्वाचन क्षेत्रबाट कम्तीमा ३ महिलासहित १० र बाँकी प्रवासका ५ वटा विशेष निर्वाचन क्षेत्र (अमेरिका–क्यानडा, युरोप, एसिया–प्यासिफिक, खाडी र ओसिनिया) बाट प्रत्येक क्षेत्रमा दुई महिलासहित पाँच जनाका दरले ३५ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

केन्द्रीय विभागमा कार्यरत पार्टी सदस्यमध्ये प्रत्येक विभागबाट एकएक जना निर्वाचित प्रतिनिधि ३२ जना आउनेछन् । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत सदस्यमध्येबाट निर्वाचित प्रतिनिधि १ जना चुनिनेछ । जनसंगठनको मान्यताप्राप्त २३ जनसंगठनमध्ये जनसंगठन र महासंघका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यमध्ये कम्तीमा ३ महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रतिनिधि र जनसंगठनबाट दुई महिलासहित पाँच जनाका दरले १३७ जना निर्वाचित हुनेछन् ।

आमपार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वयअन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चुनिँदा शेष संख्या ५० प्रतिशतभन्दा बढी भए थप एकजना प्रतिनिधि थपिनेछन् ।

प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीबाट प्रदेश कमिटीसरह कम्तीमा २ महिलासहित ५ जना चयन गर्ने निर्णय भएको छ । उपत्यका विशेष र सम्पर्क समन्वयअन्तर्गतका जिल्ला कमिटीहरूमा पनि भौगोलिक जिल्ला कमिटीसरह १ हजार २ सयभित्र ४० वर्षमुनिका युवा चयन गर्ने गरी विधि संशोधन गरिएको छ । यसअघि निर्वाचन क्षेत्रबाट मात्र प्रतिनिधि चयन हुने व्यवस्था थियो । कुल महाधिवेशन प्रतिनिधि २ हजार २ सय हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाए ।