राजनीति

विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो: अध्यक्ष दाहाल



काठमाडौँ, १८ मंसिर ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबिच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । 

किराँत समुदायको विशेष चाड उँधौली पर्व तथा नेवार समुदायको यःमरि पुन्हि र ज्यापू दिवसका अवसरमा आज उनले देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामनासमेत गरेका छन् । 

अध्यक्ष दाहालद्वारा जारी सन्देशमा भनिएको, ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त स्वाधीन राष्ट्र हो । हाम्रो संविधानले हरेक नागरिकलाई आफ्नो आस्था र समुदायअनुसार चाडपर्व मनाउन, धर्म मान्न पाउने अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ । हाम्रो राष्ट्रियताभित्र विविध जातजाति, धर्म र सम्प्रदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन् ।  हामी सबै नेपाली भए पनि अलग–अलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएका छौँ । विविधताभित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो ।’