राजनीति

देश जलाउनेलाई ‘नो’ भनौँ :  उपमहासचिव ज्ञवाली



काठमाडौँ, २१ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले देश जलाउनेलाई ‘नो’ भन्न आग्रह गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा उपमहासचिव ज्ञवालीले मंसिर २७ को एमालेको महाधिवेशन उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रूपमा भूमिका खेल्ने दाबी गरेका छन् ।

उनले नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह पार्टी परिवारका लागि सबैभन्दा ठुलो उत्सव भएको भन्दै लोकतन्त्रका पक्षमा जनताको आवाजको बुलन्द प्रतिध्वनि पनि भएको बताएका छन् ।

उनले भनेका छन्, ‘नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह पार्टी परिवारका लागि त सबैभन्दा ठूलो उत्सव हो नै, लोकतन्त्रका पक्षमा जनताको आवाजको बुलन्द प्रतिध्वनि पनि हो । राजनीतिक पार्टीहरू कमजोर या शिथिल हुँदा त्यस रिक्तताको ठाउँ अराजक शक्तिहरूले लिन खोज्छन् । पार्टीहरूले सक्रिय राजनीतिक हस्तक्षेप नगर्दा प्रतिगामीहरूले टाउको उठाउन खोज्छन् । जसरी २०६२ मङ्सिर ४ गते नेकपा ( (एमाले) ले बुटवलमा गरेको सशक्त जनप्रदर्शनले माघ १९ को शाही ‘कु’ पश्चात् उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनका विरुध्द ऐतिहासिक आन्दोलनको जग बसालेको थियो, मङ्सिर २७ को उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रूपमा भूमिका खेल्नेछ ।

हाम्रो १ दिनको उपस्थितिले ख़ास अर्थ राख्छ भने किन उपस्थित नहुने ? आउनुहोस्, मङ्सिर २७ गते दिउँसो भक्तपुर सल्लाघारी जाऔँ र देश बनाउनेलाई हौसला दिऔँ, देश जलाउनेलाई NO भनौँ !’