काठमाडौँ, २२ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटको दिनलाई जनताको आवाज बुलन्द गर्ने दिनका रुपमा लिनुपर्ने बताउनुभएको छ ।
पार्टीको महाधिवेशन जनपरिचालन समितीका संयोजक समेत रहनु भएका ज्ञवालीले राजनीतिक पार्टीहरु कमजोर हुँदा त्यसको फाइदा अराजक शक्तिहरुले लिन खोज्ने भएकोले दलहरुले सक्रिय राजनीतिमा हस्तक्षेप गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
‘११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह पार्टी परिवारका लागि त सबैभन्दा ठूलो उत्सव हो नै लोकतन्त्रका पक्षमा जनताको आवाजको प्रतिध्वनी पनि हो’सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उपमहासचिव ज्ञवालीले लेख्नु भएको छ ‘राजनीतिक पार्टीहरु कमजोर वा शिथिल हुँदा त्यसको रिक्तताको ठाउँ अराजक शक्तिहरुले लिन खोज्छन् ।’
उपमहासचिव ज्ञवालीले २०६२ मंसिर ४ गते बुटवलमा लामो समयपछि भएको नेकपा एमालेको विशाल जनप्रदर्शनले देशब्यापी रुपमा प्रतिगमन विरुद्ध आन्दोलनको माहोल ल्याएको स्मरण गर्नुभएको छ । शाही कु पछि त्यसबेला दलहरुले ठूला आमसभा गर्न नसकिरहेका बेला बुटवलमा एमालेले मंसिर ४ मा गरेको आमसभामा लुम्बिनीका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए । सोही आमसभापछि देशैभरी शाही कु विरुद्ध दलहरुले आयोजना गरेका कार्यक्रममा मानिसहरुको उपस्थिती बाक्लो हुन थालेको थियो । ज्ञवालीले उक्त आमसभालाई शाही कु विरुद्धको जगको संज्ञा दिनुभएको छ । ‘२०६२ मंसिर ४ गते एमलेले बुटवलमा गरेको सशक्त जनप्रर्दशनले माघ १९ को शाही कु पश्चात उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनका विरुद्ध ऐतिहासिक आन्दोलनको जग बसालेको थियो ’ ज्ञवालीले लेख्नु भएको छ ।
उहाँले मंसिर २७ को एमालेको उद्घाटन सभा पनि लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रुपमा भूमिका खेल्ने दाबी गर्नुभएको छ । ‘मंसिर २७ को उद्घाटन समारोहको जनउपस्थितीले पनि संविधान,लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रुपमा भूमिका खेल्नेछ’ ज्ञवालीले लेख्नुभएको छ ‘हाम्रो एकक दिनको उपस्थितीले खास अर्थ राख्छ भने किन उपस्थित नहुने ? ’
ज्ञवालीले मंसिर २७ गतेको उद्घाटन सभामा सहभागी हुने सबैलाई भक्तपुरको सल्लाघारीमा उपस्थित हुन् आह्वान गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्