ललितपुर, २२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।
सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले निर्वाचनबाट दुईतिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताए । १७ वटा पार्टी एकिकृत भएर पार्टी बनेको उल्लेख गर्दै उनले जनताको घर दैलोमा पुग्न नेताको अभाव नै नहुने बताए । जनताको सुविधाको लागि बाटो बन्ने, उत्पादन वृद्धि गर्ने, विकासका लागि सारा संसारबाट वैज्ञानिकहरुलाई नेपाल ल्याउने, नेपालबाट सीप सिक्न बाहिर पठाउने लगायतको काम गर्ने उनले बताए ।
उनले भने, ‘मरौँला अथवा बाँचौला फरक पर्दैन तर हामी समाजवाद निर्माण गर्नको निम्ति आगामी फागुन २१ गतेको निर्वाचनबाट अहिले तपाईहरुको बीचमा पनि म भन्न चाहन्छु, दुई तिहाई बहुमतमा नै हामी पुग्नुपर्छ । दुईतिहाई बहुमतसहितको भएपछि हामीले शुरु गर्नेछौँ, समाजवादको काम त्यहाँबाट थालनी हुनेछ, बाटो बन्नेछ, उत्पादन हुनेछ । घरहरु बन्नेछन्, कसरी जनतालाई सुविधा हुन्छ, सारा संसारबाट वैज्ञानिकहरुलाई ल्याउनेछौँ । हामीले पनि सीप सिक्न पठाउनेछौँ, ठाउँ ठाउँमा । हामीले यस्तो किसिमको नेपाल निर्माण गर्नेछौँ र जसलाई हाम्रा सन्ततीहरुले सधैभरी गौरव गर्नेछन् ।’










प्रतिक्रिया दिनुहोस्