अर्थ

वीरगन्ज नाकाबाट ‘आयात र निर्यात’ दुवैमा वृद्धि



पर्सा, २३ मंसिर । मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो । तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको प्रथम चौमासिकमा यो नाका हुँदै २ खर्ब ८२ अर्ब ४२ करोड रुपैयाँ बराबरको मालवस्तु भारत तथा तेस्रो मुलुकबाट आयात भएका छन् । गत आवको सोही अवधिमा २ खर्ब ४० अर्ब ८० करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएका थिए । तुलनात्मक रुपमा गत आवभन्दा चालु आवको प्रथम चौमासिक अवधिमा ४१ अर्ब ६२ करोड रुपैयाँ बराबरको मालवस्तु बढी आयात भएका छन् । यो नाकाबाट आयात हुने मुख्य वस्तुमा इन्धन, सवारीसाधन, फलामजन्य वस्तु, मदिरा आदि रहेका छन् ।

निर्याततर्फ चालु आवको प्रथम चौमासिक अवधिमा ३२ अर्ब ९५ करोड रुपैयाँ बराबरको नेपाली मालवस्तु भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको मालवस्तु भारत र तेस्रो मुलुकतर्फ निकासी भएका थिए । तुलनात्मक रुपमा गत आवको प्रथम चौमासिक अवधिको तुलनामा चालु आवको प्रथम चौमासिक अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको मालवस्तु बढी निकासी भएका छन् ।

चालु आवको प्रथम चौमासिक अवधिमा यो नाकाबाट निकासी बढ्नुमा भारततर्फ नेपाली भटमासको तेल, सूर्यमुखीको तेल र प्रशोधित पामको तेलको निकासी बढनु नै प्रमुख कारण रहेको छ । कार्यालयको तथ्यांकअनुसार, चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै १७ अर्ब ३२ करोड रुपैयाँ बराबरको ८ करोड ४० लाख लिटर भटमासको तेल भारततर्फ निकासी भएको छ । गत आवको यसै अवधिमा यो नाकाबाट २ अर्ब २ करोड रुपैयाँ बराबरको ८७ लाख ६४ हजार लिटर भटमासको तेल निकासी भएको थियो ।