Banner News

महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक गर्ने काम अन्तिम चरणमा



काठमाडौँ, २३ मंसिर । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको टिम प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन् । 

विभागका प्रमुख अधिकारीले महाधिवेशनमा आउने मध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आउने बताए। १ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनीत हुने छन् । मनोनीतसहित प्रतिनिधिको सङ्ख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले जानकारी दिए। तत्कालीन नेकपा (एस)बाट ‘घरफर्क अभियान’बाट आउने मध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् । उनीहरूको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ । 

एमालेको महाधिवेशन बन्द शत्र हलमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रूपमा प्रवेश गर्दैछन् । उनीहरू सल्लाहकार परिषद्का सदस्यहरू हुन् । सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् । प्रतिनिधि हुन नसकेकाहरूलाई महाधिवेशनमा सहभागीका रूपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो । प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन् । 

विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरूको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ । हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ । आगामी २५ गतेभित्र सम्पूर्ण प्रतिनिधि र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयले जनाएको छ ।