काठमाडौँ, २४ मंसिर । नेकपा (एमाले)का सचिव लेखराज भट्टले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन विचार, दिशा र नेतृत्व निर्माण गर्ने ऐतिहासिक तथा निर्णायक मञ्च रहेको स्पष्ट गर्नु भएको छ ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले महाधिवेशन तयारीका सबै जिम्मेवारीहरू तीव्र गतिमा अघि बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मञ्च, खाद्य तथा प्रचार व्यवस्थापन समितिहरूले आ–आफ्नो प्रगति विवरण पेस गरिसकेका छन् । ‘तयारी लगभग पूरा भइसकेको छ, बाँकी रहेका कामहरू पनि अन्तिम चरणमा पुगेका छन्,’ उहाँले बताउनुभयो ।
नेतृत्वप्रति आकाङ्क्षा तथा इच्छाहरू महाधिवेशनको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उहाँले यही प्रक्रियाबाट पार्टीको भावी दिशा र नेतृत्व तय हुने स्पष्ट पार्नु भयो । हालै सम्पन्न विधान महाधिवेशनले राष्ट्रका भावी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदका लागि केपी शर्मा ओलीलाई नै अनुमोदन गरिसकेको तथ्य स्मरण गराउँदै उहाँले विचार र सिद्धान्तको आधारमा नेतृत्व चयन हुने बताउनुभयो । साथै, देशले भोगेको जेनजी आन्दोलनको गम्भीर समीक्षा आवश्यक रहेको उहाँको टिप्पणी छ । ‘उद्देश्य, लक्ष्य बुझ्न आवश्यक छ, ऐतिहासिक रूपमा सही मूल्याङ्कन हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
पार्टीभित्र पदका लागि आकाङ्क्षा बढ्नु स्वाभाविक भएको उल्लेख गर्दै उहाँले महाधिवेशन मूलतः विचार, नीति र नेतृत्व निर्माणको प्रक्रिया भएको दोहोराउनुभयो । अहिलेको चुनौतीपूर्ण परिस्थितिमा जोखिम उठाउन सक्ने, दृढ र स्पष्ट नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहितमा ऐतिहासिक दृढता देखाउनु भएको उल्लेख गर्दै उहाँले त्यस समयमा चुच्चे नक्सा सार्वजनिक गर्दै राष्ट्रिय हितको पक्षमा सशक्त अडान लिन सक्ने नेतृत्व ओली नै भएको बताउनुभयो ।
पार्टीभित्र पुस्तान्तरण क्रमशः अघि बढिरहेको जानकारी गराउँदै उहाँले ‘थ्री–इन–वान’ अवधारणाअनुसार युवा, प्रौढ र वरिष्ठ पुस्ताको सन्तुलित संयोजनमा संगठन अघि बढेको बताउनुभयो । ३३ प्रतिशत महिलाको प्रतिनिधित्व तथा ४० वर्षमुनिका युवाको अनिवार्य सहभागितालाई उहाँले सकारात्मक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो ।
पार्टीभित्र एकता, सहमति तथा स्वस्थ प्रतिस्पर्धाको आवश्यकता दोहोर्याउँदै उहाँले कतिपय ठाउँमा अस्वस्थ अवस्था देखिएको स्वीकार गर्नुभयो । विचारलाई व्यवस्थित रूपमा अघि बढाउन नेतृत्वबाट सहमतिको प्रयास भइरहेको र सहमति असम्भव भए लोकतान्त्रिक तरिकाले निर्वाचनमार्फत निर्णय हुने उहाँले बताउनुभयो ।
संसद् पुनर्स्थापना हुनु पर्ने अडान एमालेको स्पष्ट धारणा रहेको उल्लेख गर्दै उहाँले एमाले कहिल्यै समस्याबाट नभाग्ने र नडराउने पार्टी एमाले भएको बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेपविरुद्ध अडान लिन सक्ने राजनीतिक शक्ति पनि एमाले नै रहेको उहाँको दाबी थियो ।
आगामी महाधिवेशनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई उत्पादन, विकास र समाजवादतर्फको यात्रासँग जोडेर नयाँ दिशानिर्देश गर्ने विश्वास व्यक्त गर्दै उहाँले विकसित मुलुकमा भौतिक समृद्धि भए पनि जनसन्तुष्टि नदेखिएको उदाहरण प्रस्तुत गर्नुभयो ।
उहाँले पार्टी एकताबद्ध भई अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा महाधिवेशनमा अघि बढ्नु आवश्यक रहेकाे बताउनुभयाे । विचार बिना नेतृत्व सम्भव नहुने बताउँदै उहाँले विधान महाधिवेशनले विचारको मार्ग पहिल्यै तय गरिसकेकाले अब नेतृत्वमा स्पष्टता आवश्यक रहेको निष्कर्ष प्रस्तुत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्