काठमाडौँ, २५ मंसिर । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशनबाट गुटबन्दी अन्त्यको सङ्कल्प गरेर ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्षम नेतृत्व र नीति निर्माण गर्न आह्वान गरेका छन् ।
आज सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै गुरुङले मुलुक अहिले राजनीतिक अस्थिरता र अन्योलको भुमरीमा रहेको विशिष्ट घडीमा हुन गइरहेको यो महाधिवेशन फगत नेतृत्व चयनको औपचारिकता मात्र नभई यो वैचारिक स्पष्टता, सांगठनिक सुदृढीकरण र राष्ट्रिय समृद्धिको मार्गचित्र कोर्ने ऐतिहासिक सङ्गम पनि भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘हार्दिक स्वागत तथा अभिवादन ! हिमाल, पहाड र तराईका कन्दराहरू छिचोल्दै तथा सात समुन्द्रपारि प्रवासको कर्मभूमिबाट राष्ट्र र राष्ट्रियताको पहरेदार हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) को ऐतिहासिक ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउनुभएका सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई ऐतिहासिक नगरी भक्तपुरको सल्लाघारीमा हार्दिक स्वागत गर्दछु। मुलुक अहिले राजनीतिक अस्थिरता र अन्योलको भुमरीमा छ। यो विशिष्ट घडीमा हुन गइरहेको हाम्रो महाधिवेशन फगत नेतृत्व चयनको औपचारिकता मात्र होइन; यो त वैचारिक स्पष्टता, सांगठनिक सुदृढीकरण र राष्ट्रिय समृद्धिको मार्गचित्र कोर्ने ऐतिहासिक संगम पनि हो। तपाईंहरूको जोश, जाँगर र संघर्षले नै आज एमाले देशको प्रमुख शक्ति बनेको छ। यहाँहरूको गरिमामय उपस्थितिले पार्टीलाई थप एकताबद्ध, जुझारु र गतिशील बनाउनेमा म पूर्ण विश्वस्त छु। आउनुहोस्, सल्लाघारीको यो ऐतिहासिक जमघटबाट गुटबन्दी अन्त्यको संकल्प गरौं र ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सक्षम नेतृत्व र नीति निर्माण गरौं। यहाँहरूको बसाइ सुखद र उपलब्धिमूलक रहोस्। भक्तपुरमा यहाँहरूलाई न्यानो स्वागत छ !’










प्रतिक्रिया दिनुहोस्