काठमाडौँ, २५ मंसिर । सरकारले जेनजी समूहसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबिच भएको सहमतिलाई अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए ।
बैठकले प्रधानमन्त्री र जेनजी प्रतिनिधिबिच भएको सम्झौता बमोजिम जेनजी आन्दोलन जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।
त्यस्तै बैठकले न्याय सेवा आयोगको सिफारिस अनुसार अख्तियारमा कार्यरत नेपाल न्यायसेवा कानुन समूह राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई नेपाल न्यायसेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्त गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको उनले बताए ।
त्यसैगरी प्रवक्ता खरेलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुन:निर्माण योजना तयार गर्न गठित समितिको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण भएको जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्