पर्सा, २६ मंसिर । प्रतिबन्धित औषधि (लागुऔषध)सहित वीरगन्जबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–२४ रामगढवाका २० वर्षीय युवराज पटेल, २१ वर्षीय अफजल देवान, धादिङ बेनिघाट रोराङ गाउँपालिका–६ का १९ वर्षीय रामहरि मगर र धादिङ सिदलेख गाउँपालिका–७ का १९ वर्षीय राजकुमार मगराती छन् ।
वीरगन्ज–१५ प्रतिमाचोकस्थित टिकट काट्ने काउन्टर अगाडि रोकिराखिएको बागमती प्रदेश ०८–००१ ज ०११७ नम्बरको इभी गाडीबाट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो । उनीहरुले सुटकेसभित्र लुकाइछिपाइ लागुऔषध राखेका थिए । बरामद भएको लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ६० हजार ५ सय ३० गोटा रहेको छ ।
अनुसन्धानपछि उनीहरुको वीरगन्ज महानगरपालिका–२४ रामगढवामा रहेको डेराबाट लागुऔषध १५ हजार ६ सय ४० गोटा बरामद भएको थियो । कुल ७६ हजार १ सय ७० गोटा लागुऔषध उनीहरुबाट बरामद भएको हो । उनीहरुविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्