राजनीति

अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यक : राष्ट्रपति पौडेल



काठमाडौँ, २६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी संघका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले राजनीतिका लागि पटक-पटक संघर्ष र दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमा केन्द्रित गर्नुपर्ने बताए ।

आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्न राजनीतिक स्थायित्व र सुशासन पहिलो सर्त भएको उनले बताए । उनले राजनीतिक परिवर्तनपछिको जनचाहना भनेको शान्ति, स्थायित्व र विकास भएको बताउँदै सामाजिक न्यायसहितको समयानुकूल आर्थिक नीति र कार्यक्रम बनाएर मुलुकको आर्थिक विकासको सपना साकार पार्नु मूल दायित्व भएको बताए ।